२१ जेठ, काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको लोभ देखाई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना काठमाडौँबाट पक्राउ परेका छन्। ठगीमा संलग्न दुईजनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२८ बस्ने ४६ वर्षीय प्रविनकुमार शाह र रोल्पाको त्रिवेणी गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौँ–११ बस्ने ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेका छन्।
उनीहरूले अल्बानिया र दक्षिण कोरिया पठाइदिने प्रलोभन देखाएर १३ लाख रुपैयाँभन्दा बढी रकम लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार, शाहले अल्बानिया पठाइदिन्छु भन्दै एक पीडितबाट ८ लाख १८ हजार रुपैयाँ लिएका थिए भने बुढामगरले कोरिया पठाइदिने भन्दै अर्को पीडितसँग ५ लाख रुपैयाँ असुलेर सम्पर्कविहीन भएकी थिइन्।
पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौँका विभिन्न स्थानबाट दुवैलाई पक्राउ गरिएको र उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचल पठाइएको जानकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले दिएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend