२१ जेठ, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले डिजिटल कारोबारलाई थप सरल, सुरक्षित र सहज बनाउन ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु गरेको छ। यो पूर्णतः डिजिटल कार्ड हो, जुन बैंकको मोबाइल बैंकिङ एपमार्फत प्रत्यक्ष रूपमा प्रयोग गर्न सकिन्छ।
बैंकका अनुसार ग्राहकहरूले न्यूनतम मापदण्ड पुरा गरेर यो सेवा लिन सक्नेछन्। यो कार्डमार्फत ग्राहकहरूले न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको क्रेडिट सीमा प्रयोग गर्न सक्नेछन्। यसबाट फोन पे क्यूआर स्क्यान गरेर सामान वा सेवा खरिद गर्न, अनलाइन भुक्तानी गर्न, तथा कार्ड व्यवस्थापन गर्न सकिने सुविधा दिइएको छ।
सबैभन्दा आकर्षक पक्ष के छ भने, ग्राहकले खर्च गरेको रकम ४५ दिनसम्म ब्याजबिनै उपयोग गर्न सक्नेछन्। साथै, कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि १०० प्रतिशतसम्म भुक्तानी गर्न सकिने लचिलो विकल्प पनि उपलब्ध गराइएको छ।
बैंकले यो सेवा ल्याएर डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै आफ्ना ग्राहकलाई थप आधुनिक सेवा दिन खोजेको स्पष्ट गरेको छ। यो पहलले नगद कारोबार घटाउँदै सुरक्षित डिजिटल कारोबार संस्कृतिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend