२० जेठ, काठमाडौं । सार्वजनिक सवारी बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूलाई सहयोग गर्न सशस्त्र प्रहरीले आज पनि काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
सशस्त्र प्रहरी बलका अनुसार आज दुईवटा बस सञ्चालनमा छन्। ती बसहरू सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने छन् र फरक–फरक मार्गमा चलाइनेछ।
एक बस स्वयम्भू, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वर पुग्नेछ। अर्को बस भने स्वयम्भू, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगञ्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले सवारी साधन बन्दका कारण सर्वसाधारणलाई गन्तव्यसम्म पुर्याउन निःशुल्क बस सेवा सञ्चालन गरिएको जानकारी दिए।
यसअघि हिजो पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीले काठमाडौंका विभिन्न रुटमा निःशुल्क बस सेवा चलाएका थिए। निरन्तर बन्दका बीच यस्तो सेवा यात्रुहरूका लागि राहत बनेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend