सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सार्वजनिक वित्तको निगरानीका लागि गुणस्तरीय अडिट रिपोर्ट गर्न महालेखापरीक्षकको आग्रह

सार्वजनिक वित्तको निगरानीका लागि गुणस्तरीय अडिट रिपोर्ट गर्न महालेखापरीक्षकको आग्रह

१६ जेठ , काठमाडौँ। नेपाल अडिटर्स एसोसिएसन (अडान) को सातौँ राष्ट्रिय महाधिवेशन शुक्रबार काठमाडौंमा शुरु भएको छ। महालेखापरीक्षक तोयम रायाको प्रमुख आतिथ्य र अडानका अध्यक्ष केदारनाथ पौडेलको सभापतित्वमा सम्पन्न भएको समुद्घाटन समारोहपछि शनिबार बन्द सत्र र निर्वाचनका कार्यक्रम रहेका छन् ।

महाधिवेशनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै महालेखापरीक्षक तोयम रायाले लेखापरीक्षणमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नका लागि अडिट रिपोर्टहरूमा कतैबाट पनि प्रश्न उठ्न नसक्ने गरी अडिट गर्नुपर्ने बताएका छन् ।  “लेखापरीक्षण प्रक्रियाको गुणस्तर, निष्पक्षता र पारदर्शिता राष्ट्रिय सरोकारको विषय हो । अडिट रिपोर्टहरूमा प्रश्न उठ्नु भनेको रिपोर्टको असक्षमता मात्र होइन, सार्वजनिक वित्तको निगरानी प्रणालीमा कमजोरीको सङ्केत भएकोले लेखापरीक्षकहरूले तथ्यमा आधारित र व्यापक अडिट प्रक्रिया अपनाउनुपर्छ ” रायाले भनेका छन् ।

उनले सार्वजनिक खर्चमा निगरानीको आवश्यकता रहेको बताउँदै सरकारको बजेट र नीति कार्यान्वयन प्रभावकारी छ कि छैन भन्ने मूल्याङ्कन अडिट प्रणालीमार्फत गर्न सकिने भएकोले प्रक्रिया थप मजबुत बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले अहिले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई निजी क्षेत्रका उद्योगी, व्यवसायीहरुले सकारात्मक ढंगले लिएको बताए । बजेटले निजी क्षेत्रमा उत्साह र हौसला प्रदान गरेको र कार्यान्वयन प्रभावकारी हुनुपर्ने उनले बताए ।

नेपाल अडिटर्स एसोसिएसन (अडान) का महासचिव प्रेम बहादुर श्रेष्ठले संचालन गरेका कार्यक्रममा संस्थाका अध्यक्ष केदारनाथ पौडेल, संस्थापक अध्यक्ष कमल खरेललगायतले अडानको सातौँ राष्ट्रिय महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै लेखापरीक्षकहरुको भूमिका , अवस्था र समस्याबारे प्रकाश पारेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend