१६ जेठ ,काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७५ औं वार्षिकोत्सवको अवसरमा ‘हिरक जयन्ती’ मनाउने क्रममा विशेष लोगो सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंस्थित चेम्बरको कार्यालयमा आयोजित एक औपचारिक समारोहका बीच उक्त लोगो सार्वजनिक गरिएको हो।
कार्यक्रममा चेम्बरका वर्तमान अध्यक्ष कमलेशकुमार अग्रवाल र सल्लाहकार परिषद्का अध्यक्ष तथा हिरक जयन्ती मूल समारोह समितिका संयोजक राजेशकाजी श्रेष्ठले संयुक्त रूपमा लोगो सार्वजनिक गरे। समारोहमा चेम्बरको इतिहास, योगदान र भविष्यका योजनाहरूलाई उजागर गर्नेगरी कार्यक्रमहरू आयोजना गरिने जानकारी गराइयो।
संयोजक श्रेष्ठले हिरक जयन्तीलाई विशेष बनाउने उद्देश्यले विविध कार्यक्रमको तयारी भइरहेको बताए। वाकथन, सगरमाथामा लोगो लैजाने, मेला तथा प्रदर्शनीहरू आयोजना गर्ने, शिक्षा, स्वास्थ्य र खेलकुदसँग सम्बन्धित समाजोपयोगी गतिविधिहरू गर्ने योजना अघि सारिएको छ। उनका अनुसार, चेम्बरअन्तर्गतका २२ वटा समितिहरूले आ–आफ्नो क्षेत्रअनुसार कार्यक्रम सञ्चालन गर्नेछन्।
नेपाल चेम्बर अफ कमर्सको स्थापना २००७ सालमा भएको थियो। त्यसयता निजी क्षेत्रको सशक्त प्रतिनिधिका रूपमा देशको आर्थिक विकास, व्यापार प्रवर्द्धन र लगानी अभिवृद्धिमा निरन्तर योगदान दिँदै आएको संस्था हो। कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले चेम्बरले विगत ७५ वर्षको यात्रामा सरकार र निजी क्षेत्रबीच सेतुको काम गर्दै अर्थतन्त्र सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
चेम्बरले यस वर्षलाई विशेष रूपमा मनाउनका लागि हिरक जयन्ती मूल समारोह समिति गठन गरिसकेको छ, जसको नेतृत्व पूर्वअध्यक्ष श्रेष्ठले गरिरहेका छन्। यो वर्षभित्र विविध कार्यक्रमहरूमार्फत चेम्बरको यात्रालाई स्मरणीय र आगामी पुस्ताका लागि प्रेरणादायी बनाउने योजना रहेको चेम्बरले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend