सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अभिमुखीकरण तालिममा लापरवाही गर्नेलाई कारबाही हुने 

अभिमुखीकरण तालिममा लापरवाही गर्नेलाई कारबाही हुने 

 

१२ जेठ ,काठमाडौँ ।  वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ विपरीत तालिम दिइरहेका संस्थाहरूमाथि कारबाही प्रक्रिया सुरु गर्ने चेतावनी दिएको छ।

विभागले सोमबार सूचना जारी गर्दै कार्यविधि पालना नगर्ने अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूको अनुगमनलाई नियमित तथा आकस्मिकरूपमा तीव्र पारिने जनाएको छ।

हालसम्म विभागमा १४३ अभिमुखीकरण संस्था सूचीकरणमा रहेका छन्। तर तीमध्ये १०८ संस्थाले मात्र कार्यविधिमा तोकिएको मापदण्डअनुसारको भौतिक संरचना तथा तालिम कक्ष निर्माण गरेका छन्। बाँकी संस्थाहरू अझै अधुरो संरचना वा अपूर्ण प्रणालीमा तालिम सञ्चालन गरिरहेको पाइएकाले विभागले यसप्रति गम्भीर ध्यानाकर्षण गराएको हो।

विभागले तालिमको गुणस्तरमा लापरवाही हुँदा वैदेशिक रोजगारीमा जान लागेका नेपाली श्रमिकहरूको सुरक्षामा प्रत्यक्ष असर पर्ने भन्दै सबै प्रशिक्षार्थीलाई कार्यविधिको अनुसूची ११ अनुसारको चेकलिष्टमा उल्लेख गरिएका सम्पूर्ण कक्षाहरूमा अनिवार्य रूपमा सहभागी गराएर तालिम सञ्चालन गर्न निर्देशन दिएको छ।

तालिमको न्यूनतम समय, पाठ्यक्रम, प्रशिक्षकको योग्यता र भौतिक पूर्वाधारसहित सम्पूर्ण मापदण्ड पालना नगरेको पाइएमा कार्यविधिको दफा २० अनुसार कडा कारबाही गरिने विभागले स्पष्ट पारेको छ।

सरकारी मापदण्ड विपरीत तालिम दिँदा विदेश जाने कामदारहरू झुटो जानकारी, अपुरो तयारी र झुक्किने अवस्थाका कारण दुर्व्यवहार र जोखिममा पर्ने सम्भावना बढेको विभागको ठम्याइ छ।

यस चेतावनीसँगै विभागले सबै तालिम प्रदायक संस्थाहरूलाई छिटोभन्दा छिटो आन्तरिक सुधार गर्न र श्रमिकको हितमा जिम्मेवार रूपमा तालिम सञ्चालन गर्न आग्रह गरेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend