काठमाडौं । सरकारले नेपालमा आएर इसाई धर्म प्रचार गर्ने विदेशी नागरिकको निगरानी थालेको छ । पछिल्लो मयमा नेपालमा विभिन्न वहानामा नेपालमा आई इसाई धर्म प्रचार गरिरहेको चर्चा चलेपछि सरकारले नेपालमा आई धर्म प्रचारमा लाग्ने विदेशी नागरिकको निगरानी गर्न थालेको हो ।
नेपाल धर्म निरपेक्ष भएपछि विदेशीहरुले विभिन्न भेषमा आफनो धर्म प्रचार गरिरहेका छन् । विद्यार्थीको आवरणमा नेपालमा धर्म प्रचारमा संलग्न जापानीदम्पती पक्राउ परेपछि विदेशी नागरिक विभिन्न बहाना बनाएर नेपाल आउने र उनीहरुले धर्मको प्रचार गर्ने गरेको खुलेको छ ।
मोरिटा माहाहिरो र उनकी श्रीमती याकारी मसिमोटो अध्ययन भिसामा नेपालमा बस्दै आएका थिए । तर, उनीहरू धर्म प्रचारमा संलग्न रहेको पाइएपछि पक्राउ परेका छन् ।
नेपालमा अध्ययन भिसामा रहेका विदेशीमध्ये एक सय ६४ जना विश्वभाषा क्याम्पसमा भर्ना भएका छन् । धेरैजसो नेपाली भाषा पढ्न भनेर भर्ना भएका छन् । यो सिजनमा भर्ना भएका एक सय ६४ जना विदेशीमध्ये एक सय ३८ जनाले नेपाली भाषा पढिरहेका छन ।
रुपन्देहीको सैनामैना–१० सालझन्डीमा बस्दै आएका उनीहरूलाई धर्म प्रचार गरिरहेकै अवस्थामा प्रहरीले पक्राउ गरेको हो । अध्यागमन विभागका अनुसार मोरिटिया पोखराको शिवशक्ति क्याम्पसमा भर्ना भएका थिए ।
अहिले अध्ययन भिसामा नेपाल आउने विदेशीको संख्या पछिल्लो वर्ष ५५ प्रतिशतले बढेको छ । ‘गलत प्रयोजनका लागि अध्ययन भिसा लिएर विदेशी बसिहरेका छन् कि भन्ने आशंका छ,’ महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘विदेशी विद्यार्थी कहाँ के पढिरहेका छन् भन्ने विषयमा हामीले अध्ययन थालेका छौँ ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend