सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपालमा पहिलो पटक ‘वेस्ट ह्याकाथन’ — फोहर व्यवस्थापनमा डिजिटल समाधान खोज्दै

नेपालमा पहिलो पटक ‘वेस्ट ह्याकाथन’ — फोहर व्यवस्थापनमा डिजिटल समाधान खोज्दै

 

१२ जेठ ,काठमाडौँ । विश्व वातावरण दिवस २०८२ को अवसरमा नेपालमा पहिलो पटक ‘बिन देयर ह्याक्ड द्याट’ थिममा वेस्ट ह्याकाथन आयोजना हुँदैछ। प्रविधि र सिर्जनशीलता प्रयोग गरी फोहर व्यवस्थापनको समाधान खोज्ने लक्ष्यसहितको यो राष्ट्रिय कार्यक्रम जेठ २२ गते बुढानीलकण्ठ नगरपालिकाको सभाहलमा हुनेछ।

एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको संयुक्त पहलमा आयोजना हुने यस ह्याकाथनले देशभरका प्रविधिकर्मी, नवप्रवर्तक, उद्यमी र जलवायु अभियन्तालाई एकै मंचमा ल्याउनेछ। यो कार्यक्रम सरकारी–निजी साझेदारीको एक सकारात्मक उदाहरणका रूपमा समेत अघि आएको छ।

ह्याकाथनको मूल उद्देश्य प्लास्टिक प्रदूषण नियन्त्रण, रिसाइकल पूर्वाधार विकास, अनौपचारिक फोहर संकलनकर्ताहरू—विशेषगरी महिलाहरू—को सशक्तिकरण र डिजिटल समाधानमार्फत फोहर व्यवस्थापनको दिगो प्रणाली स्थापना गर्नु हो।

एनसेल फाउन्डेसनकी स्पेशल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्, “डिजिटल इनोभेसन र वातावरण संरक्षणलाई एउटै मंचमा जोड्ने यो अनोखी पहलमा सहकार्य गर्न पाउँदा हामी उत्साहित छौं। हामी विश्वास गर्छौं कि यो ह्याकाथनले नेपालको जटिल फोहर समस्या समाधानमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

हाल नेपालमा दैनिक ३,००० टनभन्दा बढी फोहर उत्पादन हुन्छ, तर अझै औपचारिक रिसाइकल प्रणाली पूर्णरूपमा स्थापना भइसकेको छैन। फोहर व्यवस्थापनमा महिलाको औपचारिक सहभागिता ५५ प्रतिशतभन्दा कम रहेको पृष्ठभूमिमा यो ह्याकाथनले नविन, समावेशी र कार्यान्वयनयोग्य समाधानहरूलाई प्रोत्साहन गर्नेछ।

खालिसिसिका संस्थापक तथा सीईओ अमुन थापाले यो कार्यक्रमलाई “फोहरलाई नवप्रवर्तन, आय र प्रभावको स्रोतका रूपमा पुनः परिकल्पना गर्ने राष्ट्रिय आह्वान” का रूपमा परिभाषित गरे।

ह्याकाथनमा सहभागी हुन जेठ १५ गतेसम्म आवेदन खुला छ। विद्यार्थी, स्टार्टअप, इन्जिनियर, डिजाइनर, कोडर, अनौपचारिक फोहर संकलनकर्तादेखि सफा तथा स्मार्ट नेपाल बनाउन इच्छुक सबैले आवेदन दिन सक्नेछन्।

कार्यक्रममा सहभागीहरूले “ल्यान्डफिलदेखि परिपरिवर्तनसम्म”, “धुवाँबिनाको फोहर”, “फोहरमा महिलाको उद्यमशीलता” र “डिजिटाइज ट्र्यास” जस्ता चार प्रमुख विषयगत क्षेत्रहरूमा नवप्रवर्तन प्रस्तुत गर्नुपर्नेछ।

यस ह्याकाथनलाई गोल्यान ग्रुप, प्लास्ट नेपाल फाउन्डेसन, कोकाकोला बेभरेजेज नेपाल, सिएनआईवाईईएफ, नबिल बैंक, ग्रो बाई आइडिया, क्लाउडफ्याक्टरी, फ्युजमेसिन, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी, व्यापार पाठशाला र एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले समर्थन गरेका छन्।

यो ह्याकाथन नेपालमा फोहरलाई बोझ होइन, अवसरको रूपमा हेर्ने दृष्टिकोणलाई बलियो बनाउने दिशामा एक महत्वपूर्ण कदम सावित हुने विश्वास लिइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend