सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मौद्रिक नीतिको समीक्षा: चालू खाता र शोधनान्तर बचतमा, व्यापार घाटा बढ्यो

मौद्रिक नीतिको समीक्षा: चालू खाता र शोधनान्तर बचतमा, व्यापार घाटा बढ्यो

१२ जेठ , काठमाडौं।  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षकोको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ। समीक्षा अनुसार  चालू आवको ९ महिनामा चालू खाता दुई खर्ब १० अर्ब २२ करोडले बचतमा र शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालू खाता एक खर्ब ७९ अर्ब ८३ करोडले र शोधनान्तर तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो ।

त्यस्तै , चालू आवको ९ महिनामा कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भई एक खर्ब ८८ अर्ब २० करोड पुगेको छ भने वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई १३ खर्ब नौ अर्ब ५३ करोड पुगेको छ । समीक्षा अवधिमा व्यापार घाटा ६.४ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड पुगेको छ ।

त्यस्तै , चालू आवको ९ महिनामा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७.३ प्रतिशतले वृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर १५.२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि करिब छ लाख ८ हजारले श्रम स्वीकृति लिएका छन् ।

आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा ९९ हजार छ सय ६२ विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका छन् । चालू आवको ९ महिनासम्ममा औसत उपभोक्ता मुद्रास्फीति वाञ्छित सीमाभित्रै छ । चालू आवको ९ महिनामा औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा औसत मुद्रास्फीति पाँच दशमलव ९२ प्रतिशत थियो । वार्षिक बिन्दुगत आधारमा गत चैतमा उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत छ । जुन विसं २०८० चैतमा ४.६१ प्रतिशत थियो ।

त्यस्तै , गत चैतमा खाद्यान्न समूहको मूल्यवृद्धि २.४५ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.९० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा खाद्यान्न समूहको मूल्यवृद्धि ५.२२ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ४.२० प्रतिशत रहेको थियो । समीक्षा अनुसार , वार्षिक बिन्दुगत थोक मुद्रास्फीति गत चैतमा ४.२० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.९४ प्रतिशत थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend