बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

“कलेज आइडिया हन्ट २०२५” सुरु : युवा नवप्रवर्तनकारीका लागि अवसरको ढोका फेरि खुलेको घोषणा

“कलेज आइडिया हन्ट २०२५” सुरु : युवा नवप्रवर्तनकारीका लागि अवसरको ढोका फेरि खुलेको घोषणा

 

 

११ जेठ , काठमाडौं । नवप्रवर्तनशील सोच र उद्यमशीलताको यात्रामा अग्रसर नेपाली युवाहरूका लागि खुसीको खबर आएको छ। आइडिया स्टुडियो नेपालले प्रत्येक वर्ष आयोजना गर्दै आएको चर्चित कार्यक्रम ‘कलेज आइडिया हन्ट’ को २०२५ संस्करण आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ। जेठ ११ गते आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोजकले प्रतियोगिताको सुरुवातको घोषणा गर्दै आवेदन खुला भएको जानकारी गराएको हो।

‘ज्ञानलाई व्यवहारमा’ रूपान्तरण गर्दै सामाजिक रूपले सान्दर्भिक समाधानहरू उत्पादन गर्ने लक्ष्यसहित सञ्चालित यो कार्यक्रममा देशभरका कलेज स्तरीय विद्यार्थीहरू सहभागी हुन सक्नेछन्। प्रतियोगिताले युवाहरूको सिर्जनशील सोच, नवप्रवर्तन क्षमता र व्यवसायिक सम्भावनालाई देशको समृद्धि निर्माणमा रूपान्तरण गर्ने विश्वास लिएको छ।

व्यवसायिक विचारका लागि राष्ट्रिय मञ्च

आइडिया स्टुडियो नेपालद्वारा सञ्चालित कलेज आइडिया हन्ट कार्यक्रम सिर्जनात्मक युवा मस्तिष्कलाई व्यवहारिक उद्यममा रूपान्तरण गर्ने प्रयत्न हो। यसले पाठ्यपुस्तकमा सिमित ज्ञानलाई ‘ग्रीनोभेसन’ समाधानमार्फत व्यवहारमा उतार्ने अवसर प्रदान गर्छ। विद्यार्थीहरूले आफ्नो व्यवसायिक योजना पेश गर्न पिचिङ प्लेटफर्म पाउँछन् भने उत्कृष्ट विचारहरूलाई इनक्युबेसन, परामर्श, तालिम, नेटवर्किङ तथा बीउ पूँजी प्राप्त गर्ने अवसरसमेत प्रदान गरिन्छ।

यो वर्ष पनि उत्कृष्ट तीन विचारलाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ, जसले व्यवसायिक विचारलाई प्रोटोटाइपमा रूपान्तरण गर्न सहयोग पुर्याउनेछ।

६ संस्करण, सयौं सफलता

सन् २०१८ देखि सुरु भएको कलेज आइडिया हन्टले हालसम्म ६ संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ। विगतका वर्षहरूमा देशभर ४०० भन्दा बढी कलेजहरूबाट १५०० भन्दा बढी आवेदन संकलन भएका थिए। तीमध्ये ८० भन्दा बढी व्यवसायहरू इनक्युबेट भइसकेका छन् भने १९ व्यवसायले बीउ पूँजी प्राप्त गरिसकेका छन्।

सातै प्रदेशमा उपस्थिति जनाइसकेको यस कार्यक्रममा सहभागी भएर धेरै विद्यार्थीहरूले सामाजिक परिवर्तन ल्याउने उद्यम सुरु गरिसकेका छन्।

त्रिविको सहकार्य, व्यावसायिक अभ्यासमा जोड

कार्यक्रम व्यवस्थापन संकाय, त्रिभुवन विश्वविद्यालयको साझेदारीमा सञ्चालन गरिएको हो, जसले शिक्षालाई व्यवसायिक अभ्यासतर्फ लैजाने प्रयत्न गर्दै आइरहेको छ। व्यवस्थापन संकायले शिक्षालाई मात्र होइन, व्यवहारमा आधारित अभ्यासलाई पनि उतिकै महत्व दिएको भन्दै यस्ता कार्यक्रममा संलग्न हुन विद्यार्थीहरूलाई प्रेरित गर्दै आएको छ।

MIT नेपालको अन्तर्राष्ट्रिय दृष्टिकोण

यस वर्षको कलेज आइडिया हन्टमा MIT नेपालको समेत महत्वपूर्ण भूमिका रहनेछ। अन्तर्राष्ट्रिय विश्वविद्यालय IAU, अमेरिकासँगको सहकार्यमा विश्वस्तरीय शिक्षालाई व्यवहारमा रूपान्तरण गर्ने काममा जुटेको MIT ले व्यवहारिक सिकाइमा विशेष जोड दिएको छ। केस स्टडी, समूह कार्य, अतिथि वक्ताहरूको मार्गदर्शन र क्षेत्र भ्रमणमार्फत विद्यार्थीहरूलाई व्यवसायिक यथार्थमा सजग तुल्याउने उद्देश्य यस संस्थाको रहेको छ।

अब आवेदन खुला

आइडिया स्टुडियो नेपालका निर्देशक अनिल बस्नेतले यस वर्षको संस्करण अझ व्यावसायिक, समावेशी र व्यवहारिक हुने जानकारी दिएका छन्। उनले देशका कुनाकाप्चाका युवा नवप्रवर्तनकारीहरूलाई यो अवसर प्रयोग गर्न आग्रह गर्दै भने, “अब समय आएको छ विचारलाई व्यवसायमा रूपान्तरण गर्ने, र व्यवसायलाई सामाजिक परिवर्तनको औजार बनाउने।”

कलेज आइडिया हन्ट २०२५ मा सहभागी हुन इच्छुक विद्यार्थीहरूले आइडिया स्टुडियो नेपालको वेबसाइट https://ideastudio.org.np/ मा गई आवेदन दिन सक्नेछन्। थप जानकारीका लागि निर्देशक अनिल बस्नेतसँग सम्पर्क गर्न सकिन्छ – फोन: ९८५१०९८०६९, इमेल: anil@ideastudio.org.np

कलेज आइडिया हन्ट २०२५ – जहाँ विचारको मूल्य हुन्छ, र भविष्यको निर्माण शुरू हुन्छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend