सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकार तथा निजी क्षेत्रबीच सहकार्य अपरिहार्यः ढकाल

सरकार तथा निजी क्षेत्रबीच सहकार्य अपरिहार्यः ढकाल

१० जेठ , काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाउने हो भने प्राकृतिक र धार्मिक सम्पदाको भरपूर सदुपयोग अपरिहार्य रहेको बताएका छन् ।

काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाल जस्तो प्राकृतिक र धार्मिक विविधताले भरिपूर्ण देशले अझै पनि विश्वव्यापी पर्यटन बजारबाट अपेक्षित लाभ उठाउन नसकेकोप्रति चिन्ता व्यक्त गरे । सगरमाथा, लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ जस्ता विश्व प्रसिद्ध गन्तव्यहरूका बाबजुद नेपालले पर्यटन क्षेत्रलाई ठोस रूपमा आर्थिक रूपान्तरणको माध्यम बनाउन नसकेको उल्लेख गर्दै उनले दीर्घकालीन रणनीति आवश्यक रहेको औंल्याए ।

उनले नेपाल उद्योग वाणिज्य महासङ्घ सातै प्रदेशमा पर्यटन पूर्वाधार निर्माणमा कटिबद्ध भएर लागेको र यो अभियानलाई थप प्रभावकारी बनाउन सरकार तथा निजी क्षेत्रबीच सहकार्य अपरिहार्य भएको बताए । पर्यटन पूर्वाधार विकासका कामहरूलाई तीव्रता दिँदै, आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज र सुरक्षित वातावरण निर्माण गर्न सकिएमा यस क्षेत्रले रोजगारी, वैदेशिक मुद्रा आम्दानी र ग्रामीण समृद्धिमा ठूलो योगदान पुर्‍याउने उनको भनाइ थियो ।

ढकालले निजी क्षेत्रका लगानीकर्ताहरू पर्यटन विकासमा उत्साहित हुँदै आएका छन् भन्दै सरकारले नीतिगत स्पष्टता, लगानी सुरक्षाको प्रत्याभूति र प्रवर्द्धनमुखी रणनीति अवलम्बन गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि ढकालको भनाइमा समर्थन जनाउँदै पर्यटनलाई आर्थिक सुधारको इञ्जिन बनाउनेतर्फ थप ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend