७ जेठ, काठमाडौँ । विश्व कीर्तिमानी गीतकार तथा बहुआयामिक सर्जक डा डीआर उपाध्यायद्वारा रचित उपन्यास ‘आसक्ति’ लोकार्पण भएको छ। मंगलबार राजधानीमा आयोजित भव्य समारोहमा साहित्यिक पत्रकार संघको संयोजनमा उक्त कृतिको विमोचन सम्पन्न भयो।
समारोहको प्रमुख आतिथ्य सांसद डा अमरेशकुमार सिंहले सम्हाल्नु भयो भने अध्यक्षता संघका अध्यक्ष राधेश्याम लेकालीले गर्नुभयो। कार्यक्रमका विशिष्ट अतिथिहरूमा महाकाव्यकार खेमनाथ दाहाल, कलाकार मदनदास श्रेष्ठ, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, संगीतकर्मी सन्तोष श्रेष्ठ, खनाल सेवा समाजका महासचिव माधव खनाल लगायतको उपस्थिति थियो।
‘आसक्ति’ क्रुरता र ममताबीचको द्वन्द्व
महाकाव्यकार खेमनाथ दाहालले कृतिको समीक्षामा भन्नुभयो, उपन्यासभित्र क्रुरता र ममता दुबै भाव देखिन्छन्। भौतिक लालसा र आत्मिक सत्यको द्वन्द्वले उपन्यासलाई गहिराइ दिएको छ। पात्रहरू जीवनका यथार्थ प्रतिविम्ब हुन्, जसले समाजको वृत्तान्त मात्र होइन, उसको अन्तरद्वन्द्व पनि बोल्छ।
राजनीति विभाजित, साहित्य एकीकृत
कार्यक्रमका प्रमुख अतिथि डा। अमरेशकुमार सिंहले साहित्यको महत्वबारे स्पष्ट सन्देश दिनुभयो। “राजनीतिले देश विभाजन गरेको छ, तर साहित्यले जोड्ने कार्य गर्न सक्छ। आजको समयमा साहित्य चेतना, खबरदारी र राष्ट्रप्रेमको सशक्त हतियार बन्नुपर्छ,” उहाँले भन्नुभयो। उहाँले डा उपाध्यायको कीर्तिमानी योगदानलाई राष्ट्रले गहिरो सम्मान दिन नसकेकोप्रति खेद व्यक्त गर्दै भारत, श्रीलंकाजस्ता देशले जस्ता प्रतिभालाई राष्ट्रिय रत्नु ठान्ने परिपाटी नेपालमा पनि बसाल्न आग्रह गर्नुभयो।
शब्द, संगीत र संस्कृति समेटिएको समारोह
उपस्थित कलाकार तथा सर्जकहरूले डा उपाध्यायको व्यक्तित्व र कृतित्वको खुलेर प्रशंसा गरे। कलाकार मदनदास श्रेष्ठले ‘महिषासुर’ नाटकको एक अंश अभिनय गरेर समारोहलाई थप जीवन्त बनाउनु भयो।
कार्यक्रममा साहित्य र प्रवासका साधक विनोद खड्कालाई सम्मान गरिएको थियो भने डा उपाध्यायलाई लेखक सम्मान र अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो। कृष्ण भुसालले सम्पादन गरेका २१२ पृष्ठको ‘आसक्ति’ को मूल्य रु २५० निर्धारण गरिएको छ।
१५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास
गीत, संगीत, साहित्यका विविध विधामा १५३ ओटा विश्व कीर्तिमान राखिसकेका डा उपाध्यायको यो १७औं उपन्यास हो। यसअघि मझधार, बज्रघात, अपवित्र छायाँ, कसुर, मेरी प्रिया जस्ता कृतिहरूले पाठकमाझ गहिरो प्रभाव छाडिसकेका छन्। उहाँका ‘प्रेयसी’ जस्तो व्यञ्जन वर्णबाट बनेको गीत कविता, ‘अनुभूतिको मझेरी’ जस्तो सर्बाधिक सानो गीति पुस्तक, ‘अलौकिक’ जस्तो सबैभन्दा ठूलो गीत संग्रह नेपाली साहित्यको कीर्तिमानात्मक समृद्धि हुन्।
विदेशका आठ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरिसकेका उपाध्यायको सर्जनात्मक यात्रा केवल कीर्तिमानकै होड होइन, नेपाली समाज, संस्कृति र संवेदनालाई शब्दमा बाँध्ने अथक कर्म पनि हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend