३ जेठ , काठमाडौं । सरकारको ‘राजनीतिक प्रतिशोधपूर्ण’ प्रहरी हिरासतबाट राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतले सच्चाएको छ। सर्वोच्चले प्रहरीले खोजी गरेको बखत उपस्थित हुने गरी उनलाई हाजिर जमानतमा छोडेको छ । शुक्रबार ( २ जेठ ) सर्वोच्च अदालतमा मिश्रको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनवाइ गर्दै न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो आदेश गरेको हो ।
मिश्रले आफ्नो हिरासतलाई राजनीतिक प्रतिशोधपूर्ण बताउँदै आएका थिए । एक राजनीतिक बन्दी भए पनि उनीमाथि राजबन्दीको व्यवहार भएको थिएन । यस विषयमा चौतर्फी आवाज उठिरहे पनि प्रहरीको व्यवहार बदलिएन । प्रहरीलाई राजनीतिक नेतृत्वबाटै भएको निर्देशनबमोजिम प्रहरीले अनावश्यक कठोरता देखाइएको मिश्रका कानून व्यवसायीहरुले बताएका थिए । उनीहरुले प्रहरी सरकारको ‘हुकुम प्रमाङ्गी’ चलेको आरोप लगाएका थिए ।
राजसंस्था पक्षधर नागरिकहरुको चैत १५ गतेको आन्दोलनमा ‘प्रहरीले अनावश्यक बल प्रयोग गरेपछि’ आन्दोलन हिंसात्मक भएको थियो। प्रहरीले सोही साँझ मिश्र र राप्रपाकै महामन्त्री डा. धवलशमशेर राणालाई एक साथ पक्राउ गरेको थियो । क्यान्सरको उपचाररत राणालाई स्वास्थ्य स्थितिका कारण केही दिनअघि हाजिरी जमानीमा छोडियो भने मिश्र हिरासतमै थिए । ठीक ५० दिनपछि बन्दी प्रत्यक्षीकरणको मुद्दामार्फत उनी शुक्रबार थुनामुक्त भएका हुन् ।
प्रहरीले मिश्रको बयान सकेर सबै प्रमाणहरु संकलन भइसक्दा पनि विभिन्न बहानामा अस्वाभाविक रुपले ८ पटकसम्म म्याद थप गरिँदा सरकार र प्रहरीको नियतमाथि प्रश्न उठेको थियो । मिश्रलाई हरेक पटक जिल्ला अदालत लैजाँदा दुवै हातमा हत्कडी लगाइनुले पनि सरकार उनीलाई ‘सबक सिकाउने’ ध्याउन्नमा लागेको प्रतित हुन्थ्यो । सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानतमा हिरासतमुक्त भएका राप्रपा नेता रवीन्द्र मिश्रले आफूले राज्यले आरोप लगाए जस्तो संगठित र राज्यविरुद्धको अपराध नगरेको जिकिर गरेका छन् । मिश्रले अदालतको गेट बाहिर आएर भने, ‘म राजनीतिक मान्छे हुँ, मैले राजनीतिक रुपमा राजसंस्था पुनर्स्थापनाका लागि काम गरेको हो । तर, राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव मबाट भएको छैन ।’
उनले ४७ औं दिनसम्म पनि राज्यलाई अनुसन्धानमा सहयोग गर्छु भन्ने हिसाबले बन्दी प्रत्यक्षीकरणको निवेदन नदिएको समेत बताए । उनले १५ चैतमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि समेत व्यक्त गर्दै भने, ‘त्यो मैले सोचेको कुरा पनि होइन, म जस्तो मान्छेले योजना गरेको कुरा पनि होइन ।’
‘म राजनीतिक मान्छे हुँ, मैले राजनीतिक रुपमा राजसंस्था पुनस्र्थापनाका लागि काम गरेको हो । तर, राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव मबाट भएको छैन ।’
जुनसुकै आन्दोलन ठूलो भएपछि कहिल्यै पनि आयोजकको, सरकारको नियन्त्रणमा हुँदैन भनेर सधैँ भन्ने गरेको भन्दै मिश्रले थपे, ‘चाहे त्यो २०४६ साल होस्, ०६२/६३ होस्, थारु आन्दोलन होस्, हरेक आन्दोलनमा जनधनको क्षति हुन्छ । त्यसै हुनाले मैले बारम्बार मेरा सामाजिक सञ्जालका टिप्पणीहरुमा शान्तिपूर्ण संक्रमणबाट नवीन समझदारीबाट नविन समझदारीमा जाउँ भनेर भनेको छु ।’ तत्काललाई आफू हाजिर जमानतमा मात्र छुटेकाले धेरै खुशी हुने पक्षमा नरहेको समेत उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend