२ जेठ , काठमाडौं । नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादको प्रधानमन्त्री केपी शर्मा ओलीले आज समुद्घाटन गरेका छन् । यस अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयम् मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात् गरेर विश्वव्यापी संवादका रूपमा ‘सगरमाथा संवाद’को आयोजना गरिएको स्पष्ट पारेका छन् ।
सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यही यथार्थभित्र इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । “यस सम्मेलनले उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्”, प्रधानमन्त्री ओलीले भने,‘जलवायु परिवर्तनको कारक मानिएका हरितगृह ग्यास उत्सर्जनमा हाम्रो भूमिका न्यून छ तर वातावरण संरक्षणमा हाम्रो योगदान महत्वपूर्ण छ । तथापि हामीले असर भने धेरै भोगिरहेका छौँ । हाम्रा घरबासहरू पहिराले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछ, समस्या गर्छ । यसविरुद्ध हामी डटिरहेका छौँ ।’
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले संवादलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै विश्वव्यापी बढ्दो तापक्रमले हिमाल पग्लने क्रम तीव्र गतिमा बढेको र त्यस क्षेत्रको पारिस्थतिकीय प्रणालीलाई नकारात्मक असर परेको उल्लेख गरे । उनले आफ्नो नेपाल भ्रमणका क्रममा सो कुराहरु अनुभव गरेको बताए । “विश्वले नेपालको जलवायु नेतृत्वबाट धेरै कुरा सिक्नुपर्छ । स्थानीय अनुकूलन योजनादेखि लिएर, संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक चेतावनी प्रणालीमा सबै पहलमा अग्रसरता, पुनःवनरोपणमा असाधारण प्रयास र २०४५ सम्ममा आफ्नो जलवायु लक्ष्य प्राप्त गर्न अघि बढ्नुसम्मका राम्रा कुराहरु विश्वले सिक्नुपर्छ”, उनले भनेका छन् ।
त्यस्तै , सगरमाथा संवादको उद्घाटन समारोहका विशिष्ट वक्ताहरुले पनि जलवायु सङ्कट समाधानमा विश्वव्यापी सहकार्यमा जोड दिएका छन् । उनीहरुले जलवायु परिवर्तनका असरबाट जुध्न एक्लाएक्लै प्रयासले मात्रै सफलता हासिल नहुने उल्लेख गरेका छन् । समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा , चीनको जनकांग्रेस स्थायी कमिटीका उपाध्यक्ष सिआओ ची, भारतको वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादव , जलवायु मुद्दामा अजरबैजान गणराज्यको राष्ट्रपतिका प्रतिनिधि तथा २९औँ जलवायु शिखर सम्मेलनका अध्यक्ष मुख्तार बाबायेभ लगायतले जलवायु परिवर्तन न्यूनीकरणका लागि राष्ट्रहरुले आफ्नो भूमिका प्रभावकारी बनाउनेतर्फ काम गर्न तथा विभिन्न अन्तरराष्ट्रिय जलवायु कोषको वित्त आकार बढाउनुपर्नेमा जोड दिएका छन् ।
यो सम्मेलन आगामी आइतबारसम्म चल्नेछ।
( – तस्बिर प्रधानमन्त्री कार्यालयको सचिवालयबाट )
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend