१ जेठ , काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको दीगो विकास, पारदर्शी सेवा प्रवाह र संस्थागत सुधारतर्फ प्राधिकरण दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाए। उनले नेपालमा बीमाको पहुँच विस्तार गर्दै नागरिकलाई प्रभावकारी र समयमै सेवा दिन सकिने प्रणाली निर्माणमा जोड दिँदै बीमा कम्पनीहरूको कामलाई अझ पारदर्शी र उत्तरदायी बनाउने आवश्यकता औंल्याए। बीमा दाबी भुक्तानी प्रक्रियामा देखिएका समस्याको कारण कमजोर अन्डरराइटिङ भएको उल्लेख गर्दै उनले अब त्यसमा सुधार ल्याइने र व्यवस्थित प्रणाली लागू गरिने घोषणा गरे।
उनले बीमा नियमनलाई थप प्रभावकारी बनाउँदै जोखिममा आधारित सुपरिवेक्षण प्रणालीलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याइसकिएको जानकारी गराए। यस प्रणालीमार्फत उच्च जोखिम भएका बीमकहरूमा कडा निगरानी राखिने र न्यून जोखिम भएका कम्पनीहरूमा निगरानीको स्तर घटाइनेछ, जसले सम्पूर्ण बीमा प्रणालीलाई स्थायित्व र वित्तीय मजबुती दिनेछ। निर्देशन र निर्देशिकाहरू छरिएर रहेका कारण नियमनमा समस्या आएको उल्लेख गर्दै अध्यक्ष ओझाले आगामी साउनदेखि लागू हुने गरी एकीकृत निर्देशन तयार पारिने र त्यसको पहिलो मस्यौदा जेठको पहिलो सातामै तयार पारिने जानकारी दिए।
कार्यक्रममा अध्यक्ष ओझाले बीमा प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धिका लागि आन्तरिक संरचनाको पुनरावलोकन, सर्वेक्षण तथा कर्मचारी तालिमहरू सञ्चालन गरिने बताए। कार्य प्रणालीलाई पेपरलेस बनाउने योजना समेत अघि सार्दै उनले दक्षता मूल्याङ्कन प्रणालीमार्फत प्रभावकारिता बढाइने बताए। बीमा मध्यस्थता प्रक्रियालाई अझ व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित छुट्टै शाखाबाट सेवा सञ्चालन गरिने योजना पनि प्राधिकरणले अगाडि सारेको छ।
अध्यक्ष ओझाले विश्लेषणात्मक सोचको विकास र नीति निर्माणमा तथ्यांक आधारित निर्णयलाई सघाउन प्रत्येक महिनामा तथ्यांक तथा विश्लेषणात्मक सामग्री प्रकाशन गरिने घोषणा गरे। कर्णाली प्रदेशले घर बीमा कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिँदै उनले बीमा अभिकर्ताहरूको क्षमता विकास, तालिमको प्रभावकारिता र सम्पूर्ण बीमा प्रणालीको स्तरवृद्धिमा प्राथमिकता दिइने बताए।
उनले हाल वेभ एग्रिगेटर प्रणालीले काम गर्न सुरु गरिसकेको र आगामी आर्थिक वर्षदेखि अन्य बीमा सेवाहरूलाई पनि कानुनी संरचनामार्फत बजारमा प्रवेश गराइने योजना रहेको स्पष्ट गरे। बीमाको पहुँचलाई व्यापक बनाउन बीमा कम्पनीहरूले नयाँ र समयानुकूल प्रडक्टहरू विकास गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए। उनले बीमा कम्पनीहरूको जोखिम बहन क्षमता वृद्धि, लगानीको क्षेत्र विस्तार र सबै सरोकारवालासँग सहकार्य गरेर बीमा क्षेत्रलाई सशक्त बनाउने प्रतिबद्धता दोहोर्याए।
समारोहमा उनले बीमा कम्पनीहरू अहिले सीमित क्षेत्रमै सीमित भएकाले अब व्यापक सोच र योजनासहित बीमाको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए। अध्यक्ष ओझाको यी अभिव्यक्तिहरूले नेपालमा बीमा सेवा सुधारको नयाँ ढोका खोल्ने संकेत दिएको छ, जहाँ उपभोक्ता केन्द्रित, पारदर्शी र प्रविधिनिर्भर बीमा प्रणाली निर्माण गर्ने लक्ष्यका साथ बीमा प्राधिकरण अघि बढ्न थालेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend