सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पूर्वाधारमा बजेट केन्द्रित गर्नु पर्ने पूर्वअर्थमन्त्री कार्कीको जोड

पूर्वाधारमा बजेट केन्द्रित गर्नु पर्ने पूर्वअर्थमन्त्री कार्कीको जोड

३० बैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्षको बजेट प्रतिफलमुखी पूर्वाधारमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले सीमित स्रोतसाधनलाई अधिकतम लाभ दिने योजनाहरूमा बजेट परिचालन गर्नुपर्नेमा जोड दिँदै, दिगो, समावेशी र जनताले प्रत्यक्ष अनुभूति गर्ने योजना नै वर्तमान आवश्यकता भएको बताए। कार्कीले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउँदै रोजगारी सिर्जनामा जोड दिनु पर्ने उल्लेख गर्दै, नीतिगत स्पष्टता र कार्यान्वयन क्षमताको अभिवृद्धि बिना मुलुकको समृद्धि सम्भव नभएको स्पष्ट पारे।

उनले राजनीतिक अस्थिरता र नीतिगत अन्योललाई आर्थिक विकासमा प्रमुख बाधा भएको चित्रण गर्दै स्थिर नीति र वातावरण बिना लगानी, कार्यान्वयन र त्यसको प्रतिफल सम्भव नहुने तर्क गरे। जलवायु परिवर्तनसम्बन्धी जोखिम पनि उनले गम्भीर रूपमा उठाउँदै, देशभरका तीन हजारभन्दा बढी हिमनदी तीव्र रूपमा पग्लिँदै बाढीको जोखिम बढिरहेको र जलवायुजन्य विपत्तिबाट वार्षिक ८३ अर्बभन्दा बढीको क्षति भैरहेको तथ्य प्रस्तुत गरे। यस्तो अवस्थामा सरकारले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि ठोस पहल गर्न ढिलाइ गर्न नहुने चेतावनी उनले दिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend