२८ वैशाख , काठमाडौं । ‘राजसंस्था पुनःस्थापन संयुक्त जनआन्दोलन समिति’ ले राजसंस्था स्थापनाको लागि अब गरिने आन्दोलन सशक्त , निरन्तर र देशव्यापी हुने तथा निष्कर्षमा नपुगी नरोकिने निर्णय गरेको छ।
काठमाडौंस्थित नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा आइतबार सम्पन्न भएको जनआन्दोलन समितिको बैठकमा भएका छलफल र निर्णय बारेमा हेम सागर विद्रोही, अध्यक्ष (स्वतंत्र नेपाली एकता समाज) ले अबको आन्दोलनको स्वरुप भनेको राज्यसत्ता सित नडराई ठाडो चुनौती दिने गरि प्रस्तुत हुने रहेको जानकारी दिएका छन् ।
“यो राज्यसत्तालाई राजा समेत अटाउन सक्ने व्यवस्था अवलम्बन गर्न अन्तिम पटक मौका दिने । सुनुवाइ नभए आन्दोलनको सामना गर्न तयार रहन चुनौती दिने” , बैठकको निर्णय बारे उनले भने।
अबको आन्दोलन सशक्त , निरन्तर र देशव्यापी हुने तथा निष्कर्षमा नपुगी आन्दोलन नरोकिने कुरामा दृढ रहनेमा सबै सहमत रहेको उनले बताए।
आगामी जेठ १५ देखि सुरु हुने आन्दोलनको तयारीका लागी आगामी जेठ ६ गते देखि जेठ ११ गते सम्म प्रचारात्मक अभियान संचालन गर्ने उनले जानकारी दिए।
उपत्यकाका काठमाडौं , भक्तपुर र ललितपुर जिल्लाका सम्पूर्ण नगरपालिका र गाउँपालिकामा कोणसभा तथा घरदैलो कार्यक्रम संचालन गरिने बैठकले निर्णय गरेको उनले बताए।
बैठकमा सहभागी कमल थापा, केशर वहादुर विष्ट, नवराज सुवेदी, राजेन्द्र लिङ्देन, अस्मिता भंडारी, समृद्धि राणा, हेम सागर विद्रोही लगायतले आन्दोलन संचालनका १४ बुँदे सहमतिप्रती प्रतिबद्धता जनाउँदै सबै एकजुट भएरै आन्दोलनमा जाने निर्णय गरेको उनले जनाए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend