सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भारतीय सेनाले पाकिस्तानविरुद्ध गर्‍यो हवाई हमला; दुई देश युद्धको अवस्थामा

भारतीय सेनाले पाकिस्तानविरुद्ध गर्‍यो हवाई हमला; दुई देश युद्धको अवस्थामा

२४ वैशाख, काठमाडौं । भारतीय सेनाले पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमलामा आठ जना  पाकिस्तानी नागरिकको मृत्यु भएको र थप ३५ जना घाइते भएको पाकिस्तानका विदेशमन्त्री इसहाक डारले  पुष्टि गरेका छन्।

त्यस्तै , बुधबार बिहान गरिएको आक्रमणमा अहिलेसम्म ३० जना मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ ।

भारतले गरेको आक्रमणको जवाफमा पाकिस्तानले पाँच भारतीय वायुसेना जेटहरू खसालेको दाबी गरेको छ । भारतले आक्रमणमा पठाएका तीन राफेल जेट, एक मिग-२९ र एक एसयू-३० लडाकु विमान र एक ड्रोन खसालेको पाकिस्तानी सेनालाई उद्धृत गर्दै सीएनएनले जनाएको हो ।

बुधवार बिहानदेखि दुवै पक्षले सीमामा गोलीबारी र गोला हानाहान गरेका छन् । पाकिस्तान प्रशासित कश्मीरमा रहेका सीएनएन पत्रकारले धेरै ठूला विस्फोटहरू सुनेको समाचारमा जनाइएको छ ।भारत प्रशासित कश्मीरको सबैभन्दा ठूलो शहर श्रीनगरका प्रत्यक्षदर्शीहरूले शहरमा विस्फोट भएको बताएका छन् । शहरको विमानस्थलका निर्देशकले विमानस्थल नागरिक उडानका लागि बन्द गरिएको बताए।

भारत प्रशासित कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंकी आक्रमणको दुई हप्ता पछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौवटा स्थानमा हवाई हमला गर्‍यो। यस सैन्य कारबाहीलाई भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएको हो। मुस्लिम बहुल पाकिस्तान र हिन्दु बहुल भारत गत महिना भएको हत्याकाण्डपछि खुला द्वन्द्वको नजिक पुगेका छन् ।

भारतीय सेनाले कश्मीरमा पाकिस्तानबाट भएको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको बताएको छ।

अहिले दुवै देशमा विभिन्न क्षेत्रका विद्यालय र कलेजहरू बन्द गरिएका छन्।

ताजा घटनाक्रमहरूमा गम्भीर चासो र अन्तर्राष्ट्रिय प्रतिक्रिया देखिएको छ।अमेरिकी विदेश मन्त्रालयले दक्षिण एसियाली छिमेकी देशहरूबीचको तनावलाई ‘नजिकबाट निगरानी’ गरिरहेको बताएको छ ।

चीनको विदेश मन्त्रालयले पाकिस्तानविरुद्ध भारतले चलाएको सैन्य कारबाहीलाई ‘खेदजनक’ भनेको छ।

यसैबीच ,पाकिस्तानको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इस्लामाबादले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) लाई ‘भारतको आक्रामकण र यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा उत्पन्न गरेको खतरा’ बारे जानकारी गराएको बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र सुरक्षा परिषद्‍लाई पाकिस्तानसँग संयुक्त राष्ट्र चार्टरको अनुच्छेद ५१ अन्तर्गतको आत्मरक्षा अधिकारअनुसार, आफूले रोजेको समय र स्थानमा यो आक्रमणको उचित जवाफ दिने पूर्ण अधिकार रहेको सूचित गरेको छ ।’

भारतले आतंकवादीका पूर्वाधारमा आक्रमण गरिएको बताए पनि पाकिस्तानले यो दाबीलाई अस्वीकार गरेको छ । हमलाले मुख्य रूपमा आम नागरिकहरूलाई हानि पुर्‍याएको पाकिस्तानी अधिकारीले बताएका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend