बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

फेकनको अध्यक्ष पदमा ढकालको उम्मेदवारी

फेकनको अध्यक्ष पदमा ढकालको उम्मेदवारी

२३ वैशाख, काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आसन्न निर्वाचनलाई लक्षित गर्दै, संस्थाका वर्तमान सल्लाहकार रामशरण ढकालले अध्यक्ष पदका लागि आफ्नो औपचारिक उम्मेदवारीको घोषणा गरेका छन्।

सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत उनले आफूले फेकनको नेतृत्व गर्न सक्ने आत्मविश्वास, स्पष्ट योजना र संस्थाप्रतिको गहिरो प्रतिबद्धताको साथ उम्मेदवारी दर्ता गराएको सन्देश सार्वजनिक गरे। ढकालको यो कदमले संस्था भित्रको नेतृत्व प्रतिस्पर्धालाई नयाँ मोडमा पुर्‍याएको छ।

ढकालले सामाजिक सञ्जालमा प्रसारित सन्देशमा लेखेका छन्, “म फेकनका मूल्य, मान्यता र दिगो दृष्टिकोणप्रति पूर्ण समर्पित छु। यसै भावनाले प्रेरित भएर आगामी निर्वाचनमा म अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गर्दछु।”

संस्थाका सल्लाहकारका रूपमा लामो समयदेखि नीतिगत सल्लाह दिने भूमिकामा रहेर काम गर्दै आएका ढकाल अब नेतृत्व तहमा स्वयं सक्रिय भएर, संस्थालाई नयाँ युगमा प्रवेश गराउने संकल्पसाथ अघि बढेका छन्। उनले इमानदारता, समावेशिता, र व्यावसायिक स्पष्टताका आधारमा संस्था सञ्चालन गर्न सक्ने नेतृत्व क्षमता भएको दाबी गरेका छन्।

उनले आफ्नो विस्तृत योजना र भावी कार्यक्रमहरू केही दिनभित्र सार्वजनिक गर्ने बताएका छन्। तर अहिले नै उनले संस्थाको एकता, गुणस्तर, र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा क्षमता अभिवृद्धिको सवालमा व्यापक रूपमा सोच बनाइसकेको संकेत दिएका छन्।

“फेकन कुनै एक व्यक्तिको होइन, हामी सबैको साझा संस्था हो। यसलाई मजबुत, व्यवस्थित र विश्वासिलो बनाउन हामी सबैको समन्वय अपरिहार्य छ,” उनले सन्देशमा भनेका छन्। “म तपाईँहरू सबैको साथ, समर्थन र सुझावको अपेक्षा गर्दछु, ताकि हामी एकताबद्ध फेकन निर्माणमा सफल बनौं।”

ढकालको संस्था भित्रको यात्रा नयाँ भने होइन। उनी पहिले कार्यसमिति सदस्यको रूपमा पनि काम गरिसकेका छन्। उनले कार्यकालमा विभिन्न एजेन्ट वर्कसप, क्षमता विकास तालिम तथा अन्तरसंवाद कार्यक्रमहरू सञ्चालन गरेर फेकनमा गुणात्मक योगदान पुर्‍याएका छन्। फेकनको वृहत् रुपान्तरणमा आवश्यक ऊर्जा र नवीन दृष्टिकोण आफ्नो नेतृत्वले दिन सक्ने विश्वास उनले व्यक्त गरेका छन्।

शैक्षिक परामर्श क्षेत्रमै दुई दशकभन्दा बढी समयदेखि कार्यरत ढकाल यस पेशाका पुराना र अनुभवी अनुहारमध्ये पर्छन्। उनी आफ्नो व्यवसायिक यात्रामा सुरुदेखि नै संस्थाको एकता, गरिमा र दीर्घकालीन स्थायित्वका पक्षमा अडिग रहेकाले अब थप ठोस कार्यान्वयनको लागि आफू नेतृत्वमा जान चाहेको उल्लेख गर्छन्।

हाल ढकाल एक्टिभ सिनर्जी कन्सल्ट्यान्सका प्रबन्ध निर्देशकको जिम्मेवारीमा छन्। उनले विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक मेलामा नेपालको प्रतिनिधित्व गरेका छन् र शैक्षिक सञ्जाल विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।

उनको उम्मेदवारी केवल पदको खोजी नभएर संस्थालाई दीर्घकालीन रूपमा संस्थागत बनाउने यात्रा हो भन्ने संकेत उनले स्पष्ट दिएका छन्। ढकालको घोषणाले निर्वाचनलाई थप चासोको विषय बनाएको छ र अब प्रतिस्पर्धी उम्मेदवारहरूको योजना, दृष्टिकोण र कार्यशैलीले कस्तो प्रभाव पार्छ भन्ने प्रतीक्षा गरिएको छ।

ढकालले अन्त्यमा भनेका छन्, “फेकनको आजको अवस्थालाई सम्मान गर्दै, म भोलिको फेकन अझ स्थायी, समावेशी र अन्तर्राष्ट्रिय स्तरमै पहिचान बनाउन सक्ने संस्थाको रूपमा रूपान्तरण गर्न प्रतिबद्ध छु।”

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend