काठमाडौं । नेपाल बार एशोसियसनका नवनिर्वाचित अध्यक्ष विजय मिश्रले प्रधान न्यायाधीशलाई भेटेर न्यायालय सुधारका एजेन्डा पेश गर्ने बताएका छन् ।
गत चैत २८ गते सम्पन्न निर्वाचनबाट विजयी भएका पदाधिकारीको शनिबार (६ बैशाख ) भएको सपथ ग्रहण समारोहमा मिश्रले अहिले पनि न्यायपालिकामा भ्रष्टाचार र विकृतिको अवस्था कायम रहेको भन्दै केही न्यायाधीशले हेर्दाहेर्दैको मुद्दा फेरि मेरैमा पार्नु भन्ने गरेको समेत सुनिएको बताए । मिश्रले भने, ‘ न्यायाधीशले कुनै मुद्दा हेर्दा हेर्दैमा राखेर त्यो आदेश गरेर मेरै बेन्चमा पेश गर्नू भन्ने गरेको छन् । कुनै रिट दर्ता हुनु भनेको आधा मुद्दा जितेसरह भन्ने गरिएको छ । तलको सर्वोच्च अदालत र माथिको सर्वोच्च अदालत छुट्टै भन्ने पनि आएको छ ।’
मिश्रले बारलाई कमजोर पार्ने गतिविधि मान्य नहुने चेतावनी पनि दिएका छन् । पदभार ग्रहण समारोहमा अध्यक्षका प्रतिस्पर्धी रमण श्रेष्ठले बार नेतृत्व सत्ता गठबन्धनको कठपुतली बन्ने आशंका व्यक्त गरेपछि मिश्रले नेपाल बारले रमण श्रेष्ठले उठाएका सुधारका सबै एजेन्डा बोकिसकेको भन्दै विरोधका लागि विरोध गर्ने र बारका भेला कार्यक्रममा सहभागी नहुने जस्तो घोषणा नगर्न सुझाव दिएका हुन ।
नवनिर्वाचित अध्यक्ष मिश्रले बारभित्रको बारको अभ्यास स्वीकार्य नहुने पनि बताए । शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाललगायतका वरिष्ठहरुप्रति लक्षित गर्दै उनले गर्जुको पल्टनजस्तो बारमा अब नहुने प्रष्ट पारे । उनले भने, ‘यहाँ बारभित्र पनि अर्को बार छ भन्ने कुराहरु आउने गरेका छन् । इन्द्रजात्रा चल्ने गुर्जुको पल्टनजस्तो अर्को वकिलको जमात पनि प्रधान न्यायाधीशले र न्यायाधीशले राख्नुभएको छ भनिन्छ । तर यो बार भनेको गुर्जुको पल्टन होइन,वकिलहरुको संगठन हो भन्ने हामी प्रमाणित गर्छौं । बारलाई कमजोर पार्ने अभिव्यक्ति सैह्य हुनेछैन ।’
त्यस्तै, बारका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरेमाथि लगाइएको अदालतको अवहेलना मुद्दामा नयाँ बारले लड्ने पनि मिश्रले बताए । रमण श्रेष्ठले तीनकुने घटनामा मानव अधिकार उल्लंघन हुँदा बार नबोलेको भन्ने आरोप लगाएकोमा प्रतिवाद गर्दै बारको मानवअधिकार समितिमा रमण नै संयोजक रहेकाले आफैंले प्रतिवेदन दिन आग्रह समेत गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend