काठमाडौं । खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारी राजदूत बिन मोहम्मद अल हेल बिचको भेटघाटमा नेपालबाट पिउने पानी कतार निर्यात गर्ने विषयमा छलफल भएको छ । उक्त भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।
भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताइन् । उनले नेपालको पानी त्यसै खेर गैईरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको उनको भनाई छ ।
स्प्रिङ वाटर निर्यात गर्ने विषयमा दुवै देशका प्रतिनिधिहरुबीच थप छलफल गरेर अघि बढ्ने उनले मन्त्री मगरले बताइन् । सो भेटघाटमा मन्त्री मगरले नेपाल र कतार सरकारबीच समझदारी गर्ने विषयमा प्रक्रिया अघि बढाउन खानेपानी विभागका महानिर्देशकलाई निर्देशन दिइन् ।
सोही भेटघाटमा सहभागी भएका विभागका महानिर्देशक सुनिलकुमार दासले स्प्रिङ वाटर निर्यात गर्ने विषयमा विभागले अब छिटै विस्तृत अध्ययन अगाडि बढाउने र दुवै देशबीच सम्झौताको मस्यौदा तयार पार्ने बताए ।
नेपालका लागि कतारका राजदूत अल हेलले नेपालको पानी सफा र स्वच्छ रहेकाले यसको बजार कतारमा राम्रो रहेको बताए । नेपालको पानी पिउन कतार आतुर रहेको राजदूत हेलले बताए । उनले अरु देशको भन्दा नेपालको पानी स्वच्छ र प्राकृतिक मिनरलयुक्त रहेको धारणा राखे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend