सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल क्लियरिङ हाउसको ‘नेपाल पे कार्ड’ को गभर्नर अधिकारीले गरे उद्घाटन

नेपाल क्लियरिङ हाउसको ‘नेपाल पे कार्ड’ को गभर्नर अधिकारीले गरे उद्घाटन

१९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘नेपाल पे कार्ड’को औपचारिक उद्घाटन गरेका छन्  । सोमबार ( १८ चैत) नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ल्याएको ‘एनपीएस–नेसनल कार्ड स्विच’ (एनपीएस–एनसीएस) र ‘डोमेस्टिक कार्ड स्किम’ (नेपाल पे कार्ड) को गभर्नरले सार्वजनिक गरेका हुन् ।

‘नेपालको आफ्नै कार्ड’ भन्ने नारासाथ एनसीएचएलले नेपाल पे कार्ड सुरु गरेको हो । सुरुवाती चरणमा सिटिजन्स बैंक, गुडविल फाइनान्स लिमिटेड, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, एनएमबी बैंक, प्रभु बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बैंकबाट नेपाल पे कार्ड जारी हुने कम्पनीले जनाएको छ ।

यसले डिजिटल कारोबारलाई स्वदेशमै सहज, सुरक्षित र किफायती बनाउने विश्वास गरिएको छ । यो डोमेस्टिक कार्ड स्किम अन्तर्गत डेबिट, क्रेडिट, प्रिपेड, भर्चुअल जस्ता विभिन्न प्रकारका कार्ड क्रमिक रूपमा उपलब्ध हुने जनाइएको छ । यस प्रणालीको महत्त्वपूर्ण पक्ष भनेको यस अन्तर्गत हुने कारोबारको डेटा स्थानीय स्तरमै नियन्त्रण हुनेछ ।

भविष्यमा यस कार्डलाई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रयोग गर्न मिल्ने गरी काम भइरहेको एनसीएचएलले जनाएको छ । कार्यक्रममा हिमालयन बैंकले गभर्नर अधिकारीलाई पहिलो नेपाल पे कार्ड जारी गरेको थियो भने माछापुच्छ्रे बैंकमा पहिलो पीओएस कारोबार भएको थियो ।

उक्त कार्यक्रममा गभर्नर अधिकारीले नेपाल पे कार्डले आर्थिक स्वायत्ततामा महत्त्वपूर्ण योगदान गर्ने बताए । ‘भिसा र मास्टरकार्ड जस्ता अन्तर्राष्ट्रिय प्रदायक मार्फत भुक्तानी गर्दा अतिरिक्त लागत लाग्थ्यो, तर अब नेपालमै कार्ड सञ्चालन हुँदा खर्च बचत हुनेछ,’ उनले भने ।

नेपालको आफ्नै भुक्तानी प्रणाली विकास गर्ने राष्ट्र बैंकको रणनीति अनुसार यो परियोजना कार्यान्वयनमा ल्याइएको हो ।विभिन्न चरणको छलफल र स्वीकृतिपछि राष्ट्र बैंकले एचसीएचललाई यसको कार्यान्वयनको जिम्मेवारी दिएको थियो ।यसअन्तर्गत आवश्यक पूर्वाधार तयारी पूरा भइसकेको र अब बैंक तथा वित्तीय संस्थाहरूको स्विच इन्टिग्रेट गर्ने कार्य अघि बढ्ने जनाइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend