१८ चैत , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजबाट पार्टीको जिम्मेवारीमा फर्किएका छन् । यसक्रममा उनले अहिलेको कांग्रेस -एमाले सरकारको राजनीतिक प्रतिशोध र यातना पिडादायक अनुभूती गरेको बताएका छन् ।
सोमबार ( १८ चैत ) रास्वपाको केन्द्रीय समितिको विशेष बैठकमा कार्यवाहक सभापति डोल प्रसाद अर्यालले धन्यवाद ज्ञापन गरेसँगै सभापतित्व लामिछानेले गरे । बैठकमा पार्टी र सदनको गतिविधिबारे सांसद तथा केन्द्रीय सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ भएको थियो । त्यस्तै लिडरसिप एकेडेमीको फ्लोचार्ट, जनयात्रा कार्यक्रम बारे, देशव्यापी जागरण र बहस, अधिवेशन र महाधिवेशन कार्यतालिका लगायतमा छलफल भयो।
कुनै पनि सहकारीको संचालक समितिमा नरहेका र सहकारीको सदस्य समेत नरहेका सभापति लामिछानेलाई वर्तमान काङ्ग्रेस , एमालेको सरकारले प्रतिशोधपूर्ण तरिकाले सहकारी ठगीको आरोपमा पार्टी कार्यालयबाट कात्तिक २ गते पक्राउ गरेको थियो। सांसद सुर्य थापा नेतृत्वको सहकारी बचत अपचलन सम्बन्धि संसदीय छानबिन समितिले सहकारीमा रविको संलग्नता नरहेको प्रतिवेदन दिएकोमा आफ्ना कार्यकर्ता मार्फत पुरक जाहेरी दर्ता गर्न लगाई अहिलेको सरकारले उनीविरुद्ध काठमाडौं, पोखरा, चितवन, बुटवलमा विभिन्न सहकारीको मुद्दा चलाइरहेको छ । त्यसैले , पुस ८ गतेको सचिवालय बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।
आजको केन्द्रीय समितिको बैठक अघि केन्द्रीय कार्यालय वनस्थलीमा बोल्ने क्रममा सभापति रवि लामिछानेले आफूमाथि सरकारले थालेको षड्यन्त्रको सिलसिला नरोकिएको बताए । ‘पाँच महिनाअघि सरकारले जबरजस्ती झुठा मुद्दा लगाएर यहीँबाट उठाएर लगेको थियो । सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन,’ उनले भने, ‘तर म जुनसुकै परिस्थितिको सामना गर्न तयार छु ।’
सभापति लामिछानेले गणतन्त्रवादी भन्ने दलहरूले गणतन्त्रको खोल मात्रै ओढेको आरोप लगाए । ‘जहाँ तपाईं उभिरहनु भएको छ । त्यो गणतन्त्र नभएर लुटतन्त्रको खोल ओडिरहनुभएको छ । रास्वपाले खोल ओड्दैन,’ लामिछानेले भने, ‘तपाईंको कर्तुत लुकाउन लागि तपाईंको कित्तामा उभिएर फोटो खिचाउने रहर रास्वपालाई छैन ।’ वर्तमान सरकारप्रति आक्रोश व्यक्त गर्दै लामिछानेले नेपाली कांग्रेस र नेकपा एमाले प्रति लक्षित गर्दै भने ‘दुईटा चोर मिलेर साधु हुँदैन ।’
केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेको सम्बोधनः
हामीले राणा शासन देखेका छैनौ, पञ्चायत झेल्न परेन तर मलाई यो दौरान राज्यले गर्ने राजनीतिक प्रतिशोध र दिने यातना कस्तो हुन्छ भन्ने पिडादायक अनुभूति गरायो । यो दौरानको समय कति पिडादायक थियो भन्ने सम्झिदा पनि पिडादायक छ ।
यो सङ्घर्षपूर्ण समयमा पार्टीको साथी, सदस्य, शुभचिन्तक, अन्य राजनीतिक दलका नेतृत्व तथा सञ्चारकर्मी मित्रहरूले गर्नु भएको सहयोग प्रति आभार व्यक्त गर्दछु ।
आजको दिनमा यो लादिएको पीडा र सबै सङ्घर्षहरू केवल राजनीतिक प्रतिशोधको उपज हो भन्ने भाष्य स्थापित भइसकेको छ ।
चितवनबाट मध्यरातमा त्रिशूलीको तिरैतिर लग्दै गर्दा मलाई मार्न खोज्दैन भन्ने लागेको थियो र मेरो ज्यानको खतरा थियो ।
मेरो डायरी खोसियो र कहाँ जलाइदियो थाहा छैन।
नख्खुमा बाढी पहिरोको चपेटामा परेका ४ नागरिक बचाउन भिजिबिलिटी नपुगेको गृह मन्त्रालय र अस्ति तीनकुनेमा ४ हजारलाई सँभाल्न नसकेको सरकारले सबै शक्ति केवल हामीमा गरिने प्रहारमा प्रयोग गरिरहेको छ।
यो गठबन्धनले अब अर्को प्रहार गर्न सक्छ। तसर्थ अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक छ।
अब पार्टीको संरचनामा काम गरौँ। म मासिभ रिफर्ममा काम गर्न चाहन्छु।
गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र हैन। गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौ।
गणतन्त्रमा पनि सुधार आवश्यक छ, यहाँ सबै व्यवस्थाको उत्कृष्टताको परीक्षा दिनुपर्छ, दिएको छ। केही पास भएको छ, केही फेल भएको छ।
हालको संविधान र व्यवस्था अन्तर्गत सुधारिएको अभ्यास र आवश्यक परिणामको लागि र यसलाई पास गराउन अब हामी नेतृत्व लिनेछौ।
यो सबैको लागि म सङ्गठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान चाहन्छु, यसको लागि सबैलाई तयार रहन भन्न चाहन्छु।
अरू दलमा अवसर नपाएर मात्रै आउने ठाउँ हैन राष्ट्रिय स्वतन्त्र पार्टी, यो देश बनाउनको लागि एक ठाउँमा आएर अभियानमा लाग्ने पार्टी हो।
मैले के गर्नुपर्छ भन्नुस्। १५ दिनभित्र के भएन र के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्याउनुस्, म पार्टीको लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार छु।
साथै, राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय भेलाबाट घोषणा गरेकै समयमा प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आयोजना गर्ने प्रतिबद्धता सहितको निर्देशन दिन चाहन्छु।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend