बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनको ललितपुरमा प्रधानमन्त्रीद्वारा समुद्घाटन

प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनको ललितपुरमा प्रधानमन्त्रीद्वारा समुद्घाटन

१२ चैत , ललितपुर । प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशन ललितपुरमा शुरु भएको छ। महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समुद्घाटन गरेका छन् । यस महाधिवेशनले एसोसिएसनको नयाँ नेतृत्व समेत चयन गर्नेछ।

उक्त महाधिवेशनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार सुखी नेपाली समृद्ध नेपाल अभियान सफल बनाउन लागिपरेको तर विपक्षी दलहरू यसलाई सफल बनाउन नदिन लागिरहेको आरोप लगाएका छन् । ‘विरोधीहरू लाग्छन् यद्यपि वैधानिक, संवैधानिक प्रतिपक्षको भूमिका वैज्ञानिक र यथार्थपरक हुनुपर्ने हो । तर त्यस्तो भइरहेको छैन, त्यस्तो भइरहेको देखिंदैन’ , प्रधानमन्त्रीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले कसरी सरकार वा आफू बाहेक अरुलाई बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न सकिन्छ, झूटलाई फैल्याउन सकिन्छ, यस्ता कुराहरूमा विरोधीहरू बहुतै सक्रिय रहेका बताए ।  विपक्षीहरूले अनावश्यक कुरा ल्याएर सरकारको ध्यान विकेन्द्रित गर्ने प्रयास गरे पनि सरकार त्यसका लागि तयार नभएको प्रधानमन्त्री ओलीले बताए । ‘देश विकास लागि सरकारले लिएका नीति र कार्यक्रमहरू कसरी छिटो कार्यान्वयन गर्ने भन्नेमा हाम्रो ध्यान रहेको छ,’ उनले भने ।

२०४६ सालको परिवर्तनपछि देश तीव्र विकासको क्रममा रहेको उनले बताए । ‘पछिल्लो समय सबै साथीहरूले यो कुरा अनुभव गरिरहेको कुरा हो भन्ने म ठान्छु,’ उनले भने ।

आफ्नो कार्यकालमा बनेजति पुल र सडकहरू न इतिहासमा बनेको थियो, न भविष्यमा नै बन्ने प्रधानमन्त्री ओलीले जिकिर गरे । ‘केही पनि भएन, केही पनि भएन भनेर हल्ला गरेको गर्‍यौ’ उनले भने, ‘यसमा देशीविदेशी सबै तत्वहरू सक्रिय भए ।’ नेपाल विकास भएको देख्न नचाहने त्यस्ता तत्वहरू हल्ला मात्रै गर्न चाहने प्रधानमन्त्रीको आरोप छ ।

प्रधानमन्त्री ओलीले मजवुत संरचना निर्माणमा इन्जिनियरहरुको ध्यान जानुपर्नेमा पनि जोड दिए । उनले  मुलुक पहाडी संरचना भएकाले पहिरो जाने समस्या छ, इन्जिनियरले यो परिवेशलाई बुझेर भौगर्विक अवस्थाको मुल्याङ्कन गरी सुरक्षित संरचना निर्माणमा ध्यान दिनुपर्छ, खतरायुक्त स्थानमा संरचना बनाउनु हुँदैन, कानुनी कुरामा भएका समस्या सुधार गर्न सुझाव माग्दै सरकारले त्यसमा ध्यान दिने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend