काठमाडौं । धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १७औं संस्करणको घोषणा गरिएको छ। प्रतियोगिताको आयोजक नेपाल व्यायाम मन्दिरले सोमबार ( ४ चैत) पत्रकार सम्मेलन गर्दै धर्मश्री विजेताले पाउने ट्रफी सार्वजनिक गरेको छ ।
यही चैत ७,८ र ९ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताको सबै समुहमा गरि ६०० जनाको सहभागिता रहने पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिए।
प्रतियोगितामा विजेताले पाउने ट्रफी ११ केजीको रहेको आयोजकले जनाएको छ । धर्मश्री प्रतियोगिताको मुख्य विधाको रुपमा रहेको पुरूष बडिबल्डिङको विजेता धर्मश्री घोषित हुनेछ । यस्तै विजेताले नगद १२ लाख पुरस्कार पनि पाउनेछन् । कूल पुरस्कार राशी ५२ लाख ६० हजार रहेको छ । नेपालको बडिबिल्डिङ इतिहासमै यो सबैभन्दा धेरै पुरस्कार राशी रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको लागि काठमाडौं महानगरपालिकाले नगद ५० लाख मुख्य प्रायोजन बापत दिएको नेपाल व्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले बताए ।
२०५० देखि सुरु भएको धर्मश्री शारीरिक सुगठनमा हालसम्मका विजेताहरूमा रविनसन शाक्य, सागर ताम्राकार, लालबहादुर गुरुङ, जिवन गिरी, नरेश महर्जन, हरिष श्रेष्ठ, सानु गुरुङ, लोकेन्द्र परियार, महेश्वर महर्जन, अर्जुन वर्णवाल, मिलन विक्रम सिजापति र उमेश राई छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend