२७ फागुन , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा रहेको बताएका छन् । गैह्रसरकारी संस्था महासंघको ११औं महाधवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको सोमबार (२६ फागुन ) उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थाहरूलाई आग्रह समेत गरेका छन्।
प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए। उनले सामाजिक संस्थाले असफलताको मात्र नभई सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सिर्जना हुन नदिने बताए।

देशभरीका करिब ६६७५ सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दै लगभग ९०० जनाको उपस्थिति रहेको राष्ट्रिय नागरिक सम्मेलन २०८१ को सन्दर्भ पारेर गैरसरकारी संस्था महासंघ नेपालले तयार पारेको असमानता प्रतिवेदन २०२५ (Nepal Country Inequality Report २०२५) प्रधानमन्त्री ओलीद्वारा सार्वजनिक गरिएको छ ।

गैसस महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुबेदीले अध्यक्षता गरेका कार्यक्रममा अतिथिहरु नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व मन्त्री प्रदीप ज्ञवाली, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य माननीय सीता कुमारी राना, नेकपा माओवादीका केन्द्रिय सदस्य माननीय माधव सापकोटा, पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जो, युएनएफपीएका नेपाल प्रतिनिधि ओन योङ होङ, समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्ट, अन्य साझेदार संघ संस्था, महासंघ, संजाल लगायत सम्बन्धित सरोकारवाला सरकारी निकायहरु, नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend