सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कांग्रेसको ‘मिसन रोजगारी’- रोजगारी सृजनालाई राजनीतिक मुद्दा  बनाइने

कांग्रेसको ‘मिसन रोजगारी’- रोजगारी सृजनालाई राजनीतिक मुद्दा  बनाइने

२६ फागुन ,काठमाडौं । नेपाली कांग्रेस पार्टीले  रोजगारीका क्षेत्र र सम्भावना खोजी गर्न  ‘मिसन रोजगारी’ कार्यक्रम सुरु गरेको छ ।  पार्टी मुख्यालय सानेपामा आइतबार (२५ फागुन ) कार्यक्रम गर्दै कांग्रेसले यो अभियान सुरु गरेको हो ।

कार्यक्रममा  कांग्रेसका महामन्त्री गगन थापाले मिसन रोजगारीको क्रममा रोजगारीका क्षेत्र र सम्भावनामाथि सबै क्षेत्रसँग बहस चलाउने बताए  । यसले समस्याको पहिचान र समाधानको उपाय खोजी गर्न सहज हुने  महामन्त्री थापाले दावी गरे ।   बढ्दो बेरोजगारीका कारण देश छाड्ने युवा बढिरहेको भन्दै कांग्रेसले एक बर्षसम्म चलाउने भनिएको यो अभियान दुई चरणमा सम्पन्न गरिने जनाएको छ ।

देशमा राजनीतिक छलफल, संसद् वा अन्य स्थानमा रोजगारकेन्द्रित बहस हुन नसकेका बेला कांग्रेसले मिसन रोजगारी अभियान सुरु गरेको भन्दै उनले विमर्शको केन्द्रमा रोजगारी बनाउन अभियान सुरु गरिएको जानकारी गराए । उनले भने, ‘रोजगारी न राजनीतिक मुद्दा बनेको छ न प्रतिस्पर्धाको मुद्दा ।’

त्यस्तै , रोजगारी सिर्जना गर्न सकिने माध्यम र समस्याका बारेमा पार्टीकै तर्फबाट अध्ययन र अनुसन्धान गरिने भन्दै कांग्रेसले संवादका लागि छुट्याइएका विषयमा रोजगारीको अर्थ राजनीति, वैश्विक परिदृश्य, उत्पादकत्वको समस्या, सीपको समस्या, व्यावसायिक सुरक्षा, श्रम र रोजगारीको भविष्य लगायत छन् ।

महामन्त्री थापाले नेपालमा रोजगारी छैन भनिरहँदा किन प्राप्त हुन सकिरहेको छैनबारे अध्ययन नभएको बताए । उनले रोजगारी सिर्जना हुने कतिपय क्षेत्रमा विदेशी कामदारले आएको तर हामीकहाँ दक्षताको अभाव रहेको पनि बताए । उक्त  विषयगत छलफलमा अर्थविद् विश्व पौडेल, श्रम मन्त्रालयका पूर्वसचिव केवल भण्डारी, अनुसन्धानकर्ता एवं प्राध्यापक डा. कुशुम शाक्य सीटीईभीटीका सदस्यसचिव महेश भट्टराई, व्यवसायी नीरञ्जन श्रेष्ठलगायतले बोलेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend