१० माघ , काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले आफ्नो उन्नाइसौं स्थापना दिवस सामाजिक उत्तरदायित्व अन्तर्गतको रक्तदान कार्यक्रमसहित मनाएको छ। स्थापना दिवसमा एशोसिएसनले आयोजना गरेको विशेष समारोहका प्रमुख अतिथि नेपाली काङ्ग्रेस नेता एवं पूर्व महामन्त्री शशांक कोइरालाले मानिस भएर विवेकशील र आत्मपरक ढंगले आफ्नो पेशा , व्यवसाय गर्नुपर्ने बताए। नेता कोइरालाले पैसा महत्त्वपूर्ण भएपनि मानवीय संवेदनशिलता भुल्न नहुनेमा जोड दिए।
कोइरालाले काङ्ग्रेसले आफ्नो स्थापनाकाल र विपि कोइरालाको समयदेखि नै देशको सबैभन्दा कम आय भएका नागरिक र किसानहरुको हितमा काम गर्दै आएको उल्लेख गरे। उनले एशोसिएसनले रक्तदान जस्तो पवित्र काम गरेकामा प्रसंशा व्यक्त गरेका थिए।

स्थापना दिवसलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका आप्रवासन विभाग प्रमुख प्रकाश रसाइलीले फागुनमा वैदेशिक रोजगार संघमा हुने निर्वाचनमा लोकतान्त्रिक व्यवसायीहरु एकजुट भएर लाग्नको लागि लोकतान्त्रिक प्यानलका व्यवसायीहरुलाई निर्देशन दिए। उनले विभागले कसैप्रति पुर्वाग्रह नगर्ने र एउटा मापदण्ड अनुसार काम गर्ने बताउँदै दण्डहीनता र अनुशासन बाहिर गएर पार्टीका उम्मेदवारलाई हराउन लागेमा पार्टीले कारबाही गर्ने चेतावनी दिए।
सो अवसरमा एशोसिएसनका संस्थापक अध्यक्ष एवं वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तिलक रानाभाटले देशमा अहिले वैदेशिक रोजगारीको विकल्प नभएको बताए । उनले वैदेशिक रोजगार व्यवसाय ठगी खाने पेशा हैन, पवित्र काम हो भन्ने समाजलाई बुझाउन सक्नुपर्नेमा जोड दिए। वैदेशिक रोजगारीले अहिले देशको अर्थतन्त्रमा योगदान मात्रा गरेको नभई नागरिकहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रको ज्ञान र उद्यमशीलता पनि सिकाएको बताए ।वैदेशिक रोजगार संघमा आगामी फागुनमा हुने निर्वाचनमा लोकतान्त्रिक व्यवसायीको नेतृत्व आउनु आवश्यक रहेको र यसो भएमा यो क्षेत्रलाई र व्यवसायीलाई सहि मार्गदर्शन गर्न सक्ने उनले उल्लेख गरे ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्ष दीपक थापाको सभापतित्वमा स्थापना दिवस समारोह सम्पन्न भएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend