बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत सुधारका योजनाहरु ल्याउछ: उद्योग मन्त्री भण्डारी

विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत सुधारका योजनाहरु ल्याउछ: उद्योग मन्त्री भण्डारी

२३ पुष , काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको पुँजी बजारमा प्रर्याप्त विदेशी मुद्रा भित्र्याउनको लागि सरकारले तयारी गरिरहेको बताएका छन् । नेपाल निर्यात परिषदको सोमबार (२२पुष ) सम्पन्न २७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत सुधारका योजनाहरु बनाइरहेको बताए ।

निर्यात परिषदका अध्यक्ष नरेश लाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री भण्डारीले लगानीको मुनाफा सुनिश्चीत गर्न नीतिगत सुधारमा सरकार लागिपरेको बताए । मन्त्री भण्डारीले नेपालको उत्पादन अन्यत्र निर्यातका निजिक्षेत्रले उत्पादनमा जोड दिनुपर्ने बताए । उनले भने, “नेपालबाट ठूलो श्रमशक्ति विदेश गइरहेको छ । त्यसले नेपालको उत्पादनमा असर परिरहेको अवस्थामा उक्त श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाई रोजगारी बढाउनु पर्दछ । उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी श्रृष्टि गर्नु आजको आवश्यकता हो । विभिन्न उत्पादित वस्तुको पहिचान गरी कतिपय वस्तु आत्मनिर्भरका लागि र केही वस्तु निर्यातका लागि उत्पादन गर्नुपर्ने आवश्यकता टड्कारो भईसकेको छ । त्यसका लागि सरकार र निजी क्षेत्रले नीतिगत, संरचनागत, व्यवहारिक र व्यवसायिक क्षेत्रमा हातेमालो गरेर अगाडि बढ्नुपर्दछ ।”

उनले आयातमुखी अर्थतन्त्रले कुनैपनि राष्ट्र सबल हुन नसक्ने बताउँदै निर्यात प्रवर्धननै आजको आवश्यकता रहेकोमा जोड दिए । यिनै आवश्यकतालाई दृष्टीगत गरि नेपाली उत्पादित बस्तुहरुको अन्तराष्ट्रिय बजारमा निर्यात प्रवर्धन गर्नको लागि बस्तुहरु गुणस्तरिय एवं प्रतिष्पर्धात्मक उत्पादन गर्ने र यसको निकासी अभिबृद्धि गरी निर्यात प्रवर्धनको माध्यमबाट व्यवसायको स्थायित्व,संरक्षण, प्रवर्धन गर्दा मूलुकमा दिगो विकासका साथै रोजगारी प्रशस्त गर्न सकिने उनले बताए । यसका लागि नेपाली उत्पादनमा लगानी बृद्धि गरि आयातीत बस्तुहरुलाई निर्यात प्रवर्धनको माध्यमबाट क्रमशः प्रतिस्थापन गरी राष्ट्रिय अर्थतन्त्रमा ठूलो सुधार ल्याउन सकिने मन्त्री भण्डारीले बताए ।

त्यस्तै ,उद्योग मन्त्री भण्डारीले आयातमुखी बजारलाई निर्यातमुखी बनाउन हाम्रा उत्पादित बस्तुहरुको प्रतिष्पर्धि क्षमतामा अभिवृद्धि गरी निर्यात प्रवर्धनको माध्यमबाट सम्पूर्ण नेपाली निर्यातित बस्तुहरुको निर्यातमा उल्लेख्य बृद्धि गर्न, र साथै लक्ष्यलाई मुर्तरुप प्रदान गर्न एवं नेपाली वस्तुहरुको विविधिकरण गरी निर्यात क्षेत्रको विस्तार गराई अन्तराष्ट्रिय बजार प्रवर्धनमा मार्ग प्रशस्त गर्न यस्ता दिवसले निकै ठूलो भुमिका खेल्ने बताए । उनले निकासी व्यापारमा संलग्न उद्यमी, व्यवसायीहरुले निर्यात प्रवर्धन लगायतजन्य विविध पक्षहरुमा आईपर्ने समस्या, समाधानका उपाय, वस्तु प्रवर्धन, विकासका लागि अपनाउनु पर्ने रणनितिहरु समेत सिक्ने अवसर प्राप्त गर्ने विश्वाश व्यक्त गरे। ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि ठोस कद चाल्नु पर्ने बताए ।

“सरकारले आयात प्रतिस्थापन र  निर्यात प्रर्वद्धन गर्ने नीति अनुरुप काम गर्नु पर्छ । आयात प्रतिस्थापनका लागि घरेलु उद्योग प्रतिष्ठानलाई कसरी बलियो बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिनु पर्यो । निर्यातका लागि पनि सोही अनुरुप नीति बनाउन र कार्यान्वयन गर्नु  पर्छ । यसो गर्न सकेमा सरकार र निजी क्षेत्र दुवैले चाहेको उद्देश्य पूर्ति हुन्छ”, उनले भने ।

यस्तै अध्यक्ष ढकालले निजी क्षेत्रका व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले प्रतिवद्धता व्यक्त गरे अनुसार समयमा निर्यातमा अनुदान दिन पनि आग्रह गरे । उनले सरकारलाई व्यवसायीलाई प्रदान गरिने सम्मानबाट समेत प्रोत्साहन गर्न सकिने धारणा राखे । यसका लागि  सरकारले सीआइपी दिने दिन घोषणा गर्न र व्यवसायीलाई दिने  मर्यादामा ध्यान दिन समेत अनुरोध गरे ।

अध्यक्ष ढकालले निर्यात प्रवर्द्धन र विदेशी लगानीका लागि विदेश स्थित नेपाली  नियोगहरुलाई पनि नेपालको निर्यात व्यापारको लागि देश अनुरुप टार्गेट दिन र सो अनुरुपको मुल्याङ्कन गर्न  समेत आग्रह गरे । अध्यक्ष ढकालले नेपाल सन् २०२६ मा अल्पविकसित देशवाट विकासोन्मुख (एलडीसी) देशमा स्तरोन्नती हुने हुँदा या त नेपाल त्यसको लागि तयार रहनु पर्ने या निश्चित समय थप गर्नका लागि सरकारले पहल गर्नु पर्ने धारणा राखे ।

उक्त कार्यक्रममा निजी क्षेत्रका अन्य विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले दीगो आर्थिक विकासका लागि निर्यात प्रर्वद्धन आवश्यक भएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend