बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेप्सेमा छायो स्थिरता

नेप्सेमा छायो स्थिरता

२१ पुष , काठमाडौं । केहि दिन देखि धितोपत्र बजार (नेप्से ) मा  स्थिरता कायम भएको छ। आज साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेको छ। गत बुधबारदेखि नेप्सेमा सामान्य अंकको वृद्धि भइरहेको हो। बुधबार ५.१०, बिहीबार ४.६३ र आइतबार ५.३२ अंकले नेप्से बढेको छ।

आज आइतबार नेप्से २५९१.५६ विन्दुमा बन्द भएको छ। यसदिन नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि केही बढेको छ।

गत कारोबार दिन अर्थात् बिहीबार चार अर्ब ६० करोडको सेयर कारोबार भएकोमा आइतबार चार अर्ब ८६ करोडको सेयर कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा २६ करोड रूपैयाँ वृद्धि भएको हो।

आज आइतबार  ३२७ वटा धितोपत्रको ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर किनबेच भएको हो। आज १४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ वटाको घटेको छ। यस्तै आठ कम्पनीको मूल्य स्थिर रहेको छ। यस दिन तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

उपकार लघुवित्त, दोर्दी खोला जलविद्युत कम्पनी र ग्रीन भेञ्चरको मूल्य १० प्रतिशतका दरले बढेको छ। आइतबार नारायणी डेभलपमेन्टको मूल्य सर्वाधिक ८.८८ प्रतिशतले घटेको छ।उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९४७ रूपैयाँ ७० पैसा कायम भएको छ। यस्तै, आत्मनिर्भर लघुवित्तको मूल्य ६.८५ प्रतिशतले घटेर ६ हजार १२० रूपैयाँमा झरेको छ।

आइतबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।कम्पनीको प्रतिकित्ता मूल्य ७०० रूपैयाँमा १९ करोड नौ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ६.३९ प्रतिशत घटेको हो।

त्यस्तै , सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा रिभर फल्स पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार २२५ रूपैयाँमा १७ करोड ३६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यससँगै ,आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक बढेको छ भने बाँकी पाँच समूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशतले बढेको छ।  वित्त समूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशतले घटेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend