२१ पुष ,काठमाडौं । शनिबार (२० पुष ) बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक विषयको बारेमा छलफल र विभिन्न प्रदेशबाट सभापति र महामन्त्रीले रिपोर्टिङ गरेका छन् । बैठकमा समसामयिक राजनीतिक विषय र स्थानीय तह उपनिर्वाचनमा भएका कमी कमजोरीहरुप्रति आत्मालोचना र आत्मसमीक्षा गर्ने काम भएको रास्वपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभापति राजन गौतमले जानकारी दिएका छन् ।
त्यस्तै ,बैठकले पुस १८ गते दिवंगत नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बैठकमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा.स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक सन्दर्भमा जानकारी गराउँदै पार्टीका गतिविधिका बारेमा बिफ्रिङ गरेका थिए ।
बैठकले पार्टीको संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकमा अभियान यही माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म सञ्चालन गर्ने छलफल भएको रास्वपाले जनाएको छ ।
बैठकमा पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै संगठन निर्माण चरणलाई निर्धारित समयमा पूरा गर्न राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन गर्ने छलफलमा केन्द्रीय सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग साथै पार्टीको सम्बन्धित निकायहरुले सिफारिस गरेको विज्ञ सदस्यहरु रहेको जिल्ला समितिअन्तर्गतका पार्टीको संरचनाहरुलाई सहयोग तथा सहजीकरण गर्न जिल्लाअनुसारको कार्यदल निर्माण गर्नेबारे छलफल भएको रास्वपाले जनाएको छ ।
उक्त कार्यदलले सदस्यता विस्तारका साथै पालिका तथा वडा समितिहरु निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरुलाई सहजीकरण गर्नेछ । बैठकमा हालै अध्यादेशमार्फत ल्याइएको सहकारीसम्बन्धी विधेयकका सम्बन्धमा समेत छलफल भइरहेको बताइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend