काठमाडौं । बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष भानुभक्त ढकालको सभापतित्व एवं मुक्तिनाथ विकास बैंकका अध्यक्ष तथा मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालको प्रमुख आतिथ्यमा यही पुष १० गते काठमाडौंमा सम्पन्न साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ।
रोयल बहुउद्देश्यीय सहकारीले आफ्नो साधारणसभा कार्यक्रम अन्तर्गत विभिन्न सेवाकेन्द्रको छुट्टाछुट्टै एकाई साधारणसभा सम्पन्न गरे पश्चात् एकाई प्रतिनिधिहरुको निर्णय प्रमाणिकरण सभा सम्पन्न गरेको हो। संस्थाले पुष ६ गते शनिबार फर्पिङ सेवाकेन्द्र, पुष ७ गते साँखु सेवाकेन्द्र र पुष ८ गते टोखा सेवाकेन्द्रमा अन्तर्कृयात्मक सभाहरु सम्पन्न गरेको थियो।
साधारणसभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष ढकालद्वारा प्रस्तुत गरिएको समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको हो। त्यससँगै , संस्थाको वासलात, लेखासुपरीक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि सभाबाट पारित भए।
समीक्षा आर्थिक वर्षमा यस वर्ष संस्थाको शेयर पूँजी रु. ६.५६ करोड रहेको छ। सन्स्थाको निक्षेप रु. १ अर्ब १७.६९ करोड र कर्जा लगानी रु. १ अर्ब ४.१६ करोड रहेको छ। त्यस्तै , संस्थाको जगेडा कोषमा रु. ३.१ करोड रहेको छ।
देशभरी नै कार्यक्षेत्र रहेको संस्थाले प्रधान कार्यालय तथा शाखा कार्यालयहरुमा आफ्नै अत्याधुनिक भवनबाट सदस्यहरु र समुदाय विकासका लागि नविनतम कार्यक्रमहरु संचालन गरेको जनाएको छ। यस संस्थाले मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा कृषि श्रोत केन्द्र स्थापना गरि किसानलाई आवश्यक पर्ने बीउ बिजन, कृषि औजार , जैविक तथा रासायनिक बिषादीहरु, जैविक तथा प्राङ्गरिक मल , कृषिसंग सम्बन्धित प्राविधिक तथा वित्तीय सेवाहरु प्रदान गरिरहेको छ। संस्थाको लघुवित्त कार्यक्रम अन्तर्गत ३९९ केन्द्रबाट ६४१७ महिलाहरु लाभान्वित भएका छन् ।
संस्थाको २७औं वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट शाखा, कर्मचारी तथा सदस्यहरूलाई सम्मान र पुरस्कृत गरिएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend