९ पुष ,काठमाडौं । कोटेश्वर व्यवसायी संघको आयोजनामा ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ हुने भएको छ। संघले आफ्नो १९औं स्थापना दिवसको अवसरमा यही पुष १२ र १३ गते कोटेश्वरको तिनकुने चौरमा महोत्सवको आयोजना गरिने जानकारी दिएको छ।
आज आयोजित पत्रकार सम्मेलनमा कोटेश्वर व्यवसायी संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक गोरख बहादुर थापाले महोत्सवको उद्घाटन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले गर्ने जानकारी दिए।
“कोटेश्वरको ऐतिहासिक महत्वका पहिचान अभिवृद्धि गर्न, आर्थिक क्षेत्रमा देखिएका शिथिलताहरु चिर्न, आर्थिक क्षेत्रमा टेवा पुर्याउने तथा व्यापार व्यवसाय प्रवर्द्धन गरी कोटेश्वरको व्यवसायलाई थप पहिचान दिलाउन पहिलो पटक यस महोत्सवको आयोजना गर्न लागिएको हो”, थापाले भने। तीनकुने चौरमा महोत्सव उद्घाटन हुने कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल सहित यस क्षेत्रका सांसद लगायत सबै राजनीतिक दलका नेता, प्रतिनिधि, स्थानीय जनप्रनिधिसहित यस क्षेत्रका व्यवसायी, स्थानीयवासी, उपभोक्ता लगायत उपस्थित हुने उनले बताए। १३ गते सांस्कृतिक कार्यक्रमसहित साँझ महोत्सव समापन गरिनेछ ।
महोत्सवको सन्दर्भमा यही पौष १० गतेदेखि नै कोटेश्वर बजार क्षेत्र साजसज्जावटले झिलिमिली पारी आकर्षक बनाई उपभोक्ताहरुलाई विशेष छुटसहित सामग्रीहरु बिक्री गरिने आयोजकले जानकारी दिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend