बदलिँदो समयसँगै मानिसका चाहना र विलासिता फेरिँदै गएको छ । सहरी जीवनमा सुखानुभूत गर्नेदेखि सहरमा रहरको पहिचान खोज्नेसम्मको एउटै गन्तव्य बन्ने गरेको छ, रात्रिकालीन मनोरञ्जन । त्यसैले मनोरञ्जन व्यवसायको नाममा करोडौं लगानी भइरहेको छ । स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी गजल, लाइभ ब्यान्ड, क्लब, लाउन्ज रेस्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायमा लगानी बढेको हो । विभिन्न पेसा व्यवसायमा आबद्ध मानिस दिनभर कामको थकानले साँझ मनोरञ्जनका साथै थकान मेटाउन गजल, क्लब, रेस्टुराँ धाउने गरेका छन् । राजधानीका पर्यटकीयस्थल ठमेल, दरबारमार्ग मात्र नभई नयाँ गन्तव्य बनेको झम्सीखेल, सुन्धारा, लाजिम्पाट, नक्साल, बानेश्वर, गौशाला, नयाँ बसपार्क आदि स्थानमा यस्ता व्यवसाय विस्तार भइरहेका छन् । पुराना डेजाबु, काउजी, सर्कल, इबिज्जा, फायर क्लब, ओएमजी, पर्पल हेज, कर्मा, सिसा बारलगायतका क्लब तथा लाउन्ज मर्मत र लगानी थपी नयाँ संरचनासहित खुलेका छन् । लाइभ म्युजिकसहितको क्लब तथा लाउन्ज रेस्टुराँमा नेपाली र विदेशी पर्यटकको ओइरो लाग्न थालेपछि लगानी गर्ने यसतर्फ आकर्षित भएका हुन् । डेजाबु क्लब, सर्कल लाउन्ज, कौजी लाउन्ज, सिसा बारले पनि ठूलो लगानी गरेका छन् । क्लब डेजाबु सञ्चालन गर्न १० जना सञ्चालकले करिब १० करोड लगानी गरेको बताइन्छ । यसअघि खुलेका भिक्ट्री लाउन्ज, क्लासिक बर्बन र त्रिसरा रेस्टुराँँमा समेत भीडभाड बाक्लिएको छ । ठमेलको ओएमजी डिस्को र पर्पल हेज बढी पर्यटक जाने थलो नै बनेको छ । विशेषगरी ओएमजीमा शुक्रबार विदेशी पर्यटकको बढी घुइँचो लाग्ने गरेको व्यवसायीहरु बताउछन् ।
आम्दानीसँगै यो व्यवसायमा चुनौती पनि देखिएको छ । व्यवसायीबीचको अस्वस्थ्य प्रतिस्पर्धा र बेलाबेला प्रहरी प्रशासनको अनावश्यक दबाब झेल्नुपर्छ । व्यवसायीका अनुसार रात्रिकालीन व्यवसायलाई सरकारले व्यवस्थित गरी सुविधा र सहजीकरण गर्नुपन उनीहरुको भनाई छ । घरभाडा र कर्मचारीको तलब गरी मासिक ८ देखि १० लाख खर्च हुने गरेको उनको भनाइ छ । त्यसो त दुई महिनाअघि गृहमन्त्री जनार्दन शर्माले ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुलाउन आवश्यक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै त्यसका लागि तयार हुन व्यवसायीलाई आग्रह गरेका थिए । ती क्षेत्रलाई २४सै घण्टा सञ्चालनका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने व्यवसायीको माग छ ।
पछिल्लो समय क्लब तथा लाउन्ज बारमा लगानी गर्ने क्रम बढेको पर्यटन व्यवसायीहरु बताउछन् । रात्रिकालीन व्यवसायमा लगानी बढ्नु सकारात्मक भए पनि व्यवसायको सुरक्षा चुनौतीपूर्ण रहेको उनीहरुको भनाई छ । एउटा क्लब खोल्न कम्तीमा १ करोड लाग्छ । पछिल्लो समय यस्ता क्लब खुल्नेक्रम जारी छ । रात्रिकालीन व्यवसायी संघकाका अनुसार यो व्यवसायमा अहिले २ अर्बभन्दा बढी लगानी भइसकेको छ । यस्ता व्यवसायको दर्ता गर्ने निकाय एउटै नहुँदा कति संख्यामा खुलेका छन् भन्ने यकिन विवरण नभए पनि करिब ३ सयको हाराहारीमा छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend