२५ मंसिर ,काठमाडौं । नबिल बैंकको सामाजिक उद्यमशीलताको कार्यक्रम “नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरसिप फेलोसिप”बाट १ हजार २ सय जनाले रोजगारी पाएका छन् । बैकले सन् २०२१ देखि बैंकले सामाजिक उद्यमशीलताको कार्यक्रम सुरु गरेको थियो । यो कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भइरहेको छ ।
सामाजिक उत्तरदायित्व बहनमा अब्बल रहँदै आएको बैंकले प्रत्येक समुहमा २० जना इन्टरप्रेनरसिपलाई अवसर दिदै आइरहेको छ । त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा थालिएको यस कार्यक्रमबाट ५६ जना नव उद्यमी भएका छन् भने यी उद्योमीहरुले १ हजार २ सयलाई रोजगारी दिएका हुन् । नव उद्यमीहरुले उत्पादन गरेको सामाग्रीको उत्पादनदेखी बजारीकरणसम्म बैंकले सहयोग गर्दै आइरहेको छ । यो कोर्ष ६ महिनाको रहेको छ ।
एक पटकमा नवीनतम सोच भएका २० जना युवाहरुलाई यस कार्यक्रममा सहभागी गराइएको छ । बैंकले ४ औं ब्याचको कार्यक्रमका लागि गत साउनमा आवेदन खुल्ला गरेको थियो । बैंकले कृषि, पर्यटन र ऊर्जा लगायतका क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका उद्यमीहरुका लागि निःशुल्क तालिम दिइरहेको छ ।

नबिल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म चल्ने यो कार्यक्रममा सहभागीहरु विभिन्न कार्यक्रममा सहभागी रहेका थिए ।
नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवालीले फेलोसिप २०७८ बाट सुरु भएको बताए । उनले भने, ‘हालसम्म ३ वटा व्याचको फेलोसिप सकिएको छ । जसबाट १ हजार २ सयले प्रत्यक्ष रोजगारी पाएका छन् ।’
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले दिगो बैंकिङको लक्ष्यअनुसार फेलोसिप गरिएको बताए । ‘बैंकको काम पैसा राख्ने र झिक्ने मात्रै भनेर बुझाइ रहेको बेला नबिले सिप सिकाएर रोजगारी सिर्जना गरेको छ । बैंकले स्वदेशमा मात्रै होइन अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ’, उनले भने, ‘उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दिर्घकालीन समाधान गर्ने उद्देश्यले साथ कार्यक्रम सुरुवात गरेको हो ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend