५ मंसिर , काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारले लोकतान्त्रिक पद्धतिलाई थप सुदृढ बनाउनको लागि नै संविधान संशोधन गर्न लागेको बताएका छन् ।सभापति देउवाले भारत लगायतका देशहरूमा जस्तै उपराष्ट्रपति नै राष्ट्रिय सभाको अध्यक्ष रहने गरी संविधान संशोधन गर्ने सहमति भइसकेको जानकारी दिए।
नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन ( डिएलए नेपाल) को ३५औं स्थापना दिवसकोे अवसरमा आयोजित ‘संविधान कार्यन्वयनमा कानूनी र वित्तीय सुशासन’ सम्बन्धी छलफल तथा आ.व. २०८०/८१ को वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै उनले कुनै पनि व्यवस्था सफल बनाउन कानुनी शासनको साथमा कानुन व्यवसायीको पनि महत्त्वपूर्ण भूमिका हुने पनि बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चीनसँग विगतमा गरिएको सम्झौताहरु कार्यान्वयनमा हुनुपर्ने बताउँदै चीनसँग सम्झौता गरिएको बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्नुअघि विगतमा भएका सहमती अनुदान सहायतामार्फत सम्पन्न हुनुपर्ने आफूहरुको अडान रहेको स्पष्ट पारे ।
उनले सो सम्बन्धमा एमालेसँग मतभिन्नता भएको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढन आफूहरु सक्षम रहेको पनि बताए ।महामन्त्री थापाले सो परियोजनालाई अघि बढाउने विषयमा एमालेसँग साझा धारणा बढाएर अघि बढ्ने बताए ।
महामन्त्री थापाले दुई ठुला दल मिलेर वर्तमान सरकार बनेपछि पनि नागरिकमा निराशा र आक्रोश उत्तिकै रहेको बताए । सरकारले सुविधाको क्षेत्रमा बसेर मात्रै यसको सम्बोधन गर्न नसक्ने हुनाले संविधान संशोधन लगायतका काममा सहयोग गर्न नै दुई दलको संयन्त्र निर्माण गरिएको उनले बताए ।
त्यस्तै , प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर विपक्षी माओवादीले चाइना कार्डको अफवाह फैलाएकोप्रती संकेत गर्दै थापाले अहिलेको सरकारले दुबै छिमेकी रास्ट्र र सबै मित्ररास्ट्रहरुप्रति समान र घनिष्ठ सम्बन्ध कायम गर्ने कुरामा स्प्रस्ट रहेको बताए ।
कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारले न्यायपालिकामा व्याप्त भ्रष्टाचार र विकृति अन्त्य हुनुपर्ने कुरा उठाउदा आँफुले अवहेलनाको मुद्दा खेपिरहेको बताउँदै न्यायपालिकाको गरिमा माथि उठाउन न्यायाधीशको चाकडी गर्न सबैले छोडनुपर्नेमा जोड दिए। न्यायपालिकामाथिको प्रहार नेपाल बारले रोकेको बताउँदै न्यायाधीश नियुक्तिमा बारलाई उपेक्षा गरिएकोमा असन्तुष्टि जनाए ।
कार्यक्रम डिएलए नेपालका अध्यक्ष सीताराम केसीको सभापतित्वमा सम्पन्न भएको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend