२४ कार्तिक , काठमाडौं । नेपालबाट अन्तराष्ट्रिय उडान भर्दै आएका हवाई कम्पनीहरुले यहि नोभेम्बरदेखि लागू हुनेगरी हवाई भाडा बढाएका छन् ।अन्तराष्ट्रिय हवाईको भाडा तीन गुणाले बढेको पाइएको छ। यसअघि नेपालबाट दुबई जानलाई औसतमा ३२ हजार रुपैयाँ हवाई भाडा रहेकोमा अहिले बढाएर ८२ हजार बनाइएको छ।
एकैपटकमा तीन गुणाले भाडा बढाउँदा बैदेशिक रोजगारीमा जाने नेपालीहरुमाथि ठुलो आर्थिक भार परेको छ। नेपालका लागि बैदेशिक रोजगारका लागि गन्तब्य मुलुकका देशहरुमा तीन गुणासम्मले भाडा बढाएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ। अचानक तीन गुणाले भाडा बढाउँदा बैदेशिक रोजगारीमा जाने नेपालीहरुमाथि ठुलो आर्थिक भार पर्ने भन्दै संघले श्रम मन्त्रालय लगायतका निकायको ध्यानाकार्षण गराएको हो। अन्तराष्ट्रिय हवाई कम्पनीहरुले भाडा अचाक्ली बढाएकाले नेपाली श्रमिक मारमा पर्ने भन्दै संघले नेपाली कामदारलाई भारतको दील्ली हुँदै गन्तब्य मूलुक जान दिन समेत सरकारसंग आग्रह गरेको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट यही कार्तिक २३ गतेदेखि उडान कटौती गरिने भएपछि बिशेषगरि अन्तराष्ट्रिय उडान भर्ने कम्पनीहरुले अन्तराष्ट्रिय हवाई भाडा बढाएका हुन्। आन्तरिक उडान भर्ने हवाई कम्पनीहरुले भने भाडादर विगतकै कायम गरेका छन् र नबढाउने प्रतिबद्दता जनाएका छन्। नागरिक उड्डयन प्राधिकरणले यहि कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा विमानस्थल बन्द गर्ने भएपछि करिब ४० प्रतिशत उडान कटौती गरिएका छन्। प्राधिकरणले रातको समय स्तरोन्नतिको काम गर्ने भन्दै आगामी पांच महिनाको लागि बिहान ८ बजेदेखि बेलुका १० बजेसम्म मात्रै हवाई सेवा दिन सकिने भन्दै त्यहिअनुसार तालिका बनाएको छ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएका अन्तराष्ट्रिय हवाई उडान कम्पनीहरुको छाता संगठन एयरलायन अपरेटर कमिटि नेपालले भाडा वृद्धिबारे आफ्नो आधिकारिक धारणा व्यक्त गरेको छैन।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend