२२ कार्तिक , काठमाडौं । यही ५ नोभेम्बरमा सम्पन्न भएको सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन डोनाल्ड ट्रम्पले जितेका छन्। पूर्व राष्ट्रपतिसमेत रहेका उनले २७० इलेक्ट्रोल कलेज पार गर्दै निर्वाचन जितेका हुन्।
अमेरिकामा राष्ट्रपतिको निर्वाचन जित्न २७० इलेक्ट्रोल कलेज चाहिन्छ। अमेरिकी समाचार संस्था सिएनएनका अनुसार रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले २७६ इलेक्ट्रोल कलेज जितिसकेका छन्। त्यस्तै , डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले २१९ इलेक्ट्रोल कलेज जितेकी छन्। उनी अहिलेकी उपराष्ट्रपति समेत हुन्।
त्यस्तै , पपुलर मतमा पनि यसपालि ट्रम्प नै अगाडि छन्। ट्रम्पले ७ करोड ८ लाख ७७ हजार ४८४ मत प्राप्त गरेका छन्। ह्यारिसले ६ करोड ५८ लाख १२ हजार ७५९ मत प्राप्त गरेका छन्।
यससँगै,अमेरिकी राष्ट्रपति निश्चित भएका डोनाल्ड ट्रम्पले १३२ वर्षपछि नयाँ रेकर्ड बनाउने भएका छन्। उनी अमेरिकी इतिहासमा १३२ वर्षपछि पहिलो प्रयासमा राष्ट्रपति बनेर दोस्रो निर्वाचन हार्दै तेस्रो प्रयासमा फेरि राष्ट्रपति निर्वाचित हुँदैछन्। सन् २०१६ मा हिलारी क्लिन्टनलाई हराएर पहिलो कार्यकालका लागि ४५ औं राष्ट्रपति बनेका थिए। तर सन् २०२०मा डेमोक्र्याटिक पार्टीका जो बाइडेनले उनलाई पराजित गरेका थिए।
अमेरिकामा राष्ट्रपति निर्वाचनमा एकपटक पराजित भएपछि प्राय ती राजनीतिज्ञले अर्को पटक उम्मेदवार बन्ने प्रयास गर्दैनन्। त्यस्तो प्रयास गर्ने राजनीतिज्ञले पार्टी भित्रकै चुनाव जित्ने सम्भावना कम हुन्छ। तर रिपब्लिकन पार्टीमा डोनाल्ड ट्रम्पको जबरजस्त पकड थियो। उनी सजिलैसँग रिपब्लिकन पार्टीमा प्राइमरी निर्वाचन जितेर राष्ट्रपतिमा सो दलको उम्मेदवार बने।
यो भन्दा अघि १३२ वर्ष पहिले सन् १८९२ मा ग्रोभर क्लिभल्यान्डले यस्तो रेकर्ड बनाएका थिए। उनी पहिलो पटक १८८५मा २२ औं राष्ट्रपतिमा निर्वाचित भएका क्लिभल्यान्ड १८८९ मा पराजित भएका थिए। त्यसपछि फेरि १८९३ मा २४ राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend