बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

२१ कार्तिक ,काठमाडौं।   प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा दुई देश बीचको सम्बन्धमा सन्तुलित दृष्टिकोण राख्नु अत्यन्त महत्त्वपूर्ण हुनेमा  ‘राष्ट्रिय एकता अभियान’ ले जोड दिएको छ। प्रधानमन्त्रीको यो भ्रमणले नेपाल-चीन सम्बन्धलाई थप मजबुत बनाउन र नेपालका आर्थिक सम्भावनाहरूलाई नयाँ आयाम दिन सक्ने पनि अभियानले बताएको छ।

यस भ्रमणमा चीनले नेपालमाथि ‘बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI)’ अन्तर्गतका परियोजनाहरू अघि बढाउन दबाब दिन सक्ने  भएकोले दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर छलफल गर्नुपर्ने अभियानका अध्यक्ष विनय यादवले बताएका छन् । प्रधानमन्त्रीको यो भ्रमणले नेपाल-चीन सम्बन्धलाई थप मजबुत बनाउन सक्ने तर राष्ट्रिय हितमा आधारित दीर्घकालीन निर्णय लिँदा मात्रै नेपालले सशक्त र आत्मनिर्भर राष्ट्रको रूपमा आफ्नो पहिचान सुरक्षित हुने उनले बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आगामी डिसेम्बर २ देखि ५ सम्म चीनको आधिकारिक भ्रमणमा जाने तयारीमा छन्। यस भ्रमणको क्रममा नेपालले चीनसँग व्यापारिक नाकाहरू किमाथाङ्का, कोराला, र हिल्सा नाका पुनः खोल्ने तथा सिगत्से-केरुङ-काठमाडौं रेलवे जस्ता पूर्वाधार परियोजनाहरूमा छलफल गर्ने अपेक्षा छ। यो भ्रमणले नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग गर्न सक्छ, तर नेपालले यस सम्बन्धमा सन्तुलित दृष्टिकोण राख्नु अत्यन्त महत्त्वपूर्ण हुने राष्ट्रिय एकता अभियानले जनाएको हो।

यस सम्बन्धमा राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले एक प्रेस विज्ञप्तिमार्फत भनेका छन्, “नेपालले आफ्नो स्वाधीनता र दीर्घकालीन राष्ट्रिय हितको रक्षा गर्दै चीनसँगको सम्बन्धमा अघि बढ्नुपर्छ। नेपालले BRI परियोजनामा सामेल हुनु अघि अन्तर्राष्ट्रिय अनुभवबाट सिक्न आवश्यक छ। इटाली र ब्राजिलले BRI परियोजनामा सहभागिता जनाउनुअघि यसको प्रभावहरूको गहन मूल्याङ्कन गरेका थिए। नेपालले पनि यस्तै दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर BRI जस्ता परियोजनामा अघि बढ्नुपर्छ।”

यादवले थप जोड दिएका छन् कि यस्ता दीर्घकालीन महत्वका परियोजनाहरू संसदबाट दुई तिहाई बहुमतले पारित हुनुपर्छ, र सरकारले एक्लै निर्णय गर्न हुँदैन । “चीनसँगका यस्ता परियोजनाहरूले नेपालको आर्थिक निर्भरता र भूराजनीतिक सन्तुलनमा दीर्घकालीन प्रभाव पार्न सक्छ। सरकारले यस भ्रमणको क्रममा कुनै ठोस एजेन्डा तय नगरी, नेपालको हितलाई सर्वोपरि राखेर निर्णय गर्नुपर्छ,” उनले बताए।

उनका अनुसार अन्तर्राष्ट्रिय अनुभवले पनि  BRI जस्ता परियोजनामा सहभागिता जनाउँदा राष्ट्रिय स्वाधीनता र आर्थिक निर्भरताको विषयलाई ध्यान दिनुपर्छ। इटालीले BRI मा सहभागिता जनाउँदा सावधानीपूर्वक सर्तहरू राखेको थियो भने, ब्राजिलले चीनसँग अत्यधिक निर्भरता र कर्जाको जोखिमलाई न्यून गर्नुपर्ने रणनीति अपनाएको थियो। यी उदाहरणहरूले नेपालका लागि महत्वपूर्ण शिक्षा दिन सक्छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend