१४ कार्तिक , काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सत्ताइसौं वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयरधनिलाई चुक्ता पूँजीको ३ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव स्वीकृत गरेको छ। साधारणसभामा कम्पनीले सौर्य उर्जामा समेत लगानी गर्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरणले सौर्य उर्जा निर्माण तथा संचालनको लागि टेण्डर आव्हान गरे बमोजिम कोशी प्रदेशको बसन्तपुर सवस्टेशनमा २० मेगावाट क्षमताको सौर्य आयोजनाको लागि टेण्डर गरेको जानकारी दिइयो ।
कम्पनीका अध्यक्ष जीवनराज शाक्यको सभापतित्वमा कार्तिक १४ गते बुधबार सम्पन्न सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८०/८१ सम्मको शेयर प्रिमियम, खुद मुनाफा सहितको संचितिबाट हाल कायम रहेको चुक्ता पूँजीबाट ३% बोनस शेयर र कर प्रयोजनका निम्ति ०.१५७ नगद लाभांश प्रदान गरेको हो।
सभाले समीक्षा आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन , लेखा र सुपरीवेक्षण प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण कार्य सम्पन्न गरेको छ।
नेपालमा जलविद्युत आयोजनाहरुको खोजी , निर्माण तथा संचालन गर्ने उद्देश्यले विक्रम सम्वत २०५४ सालमा स्थापित यस कम्पनीले हाल ३.० मेगावाटको पिलुवाखोला जलविद्युत आयोजना , ९.९४ मेगावाटको काबेली बी-१ क्यासकेड जलविद्युत आयोजना , २५ मेगावाटको काबेली बी-१ जलविद्युत आयोजना लगायतका आयोजना सम्पन्न गरि व्यावसायिक उत्पादन गरिरहेको छ। त्यस्तै , यस कम्पनीको लगानी रहेका रिडि पावर लिमिटेड , हिमालय उर्जा विकास कम्पनी लिमिटेडबाट अन्य आयोजना संचालनमा रहेका छन् । केहि जलविद्युत परियोजना विकासको क्रममा रहेको कम्पनीले जनाएको छ।
समीक्षा आ.व. मा चुक्ता शेयर पूँजी रु. ३,७३,५९,२५,२००/- रहेको कम्पनीले विद्युत बिक्री र अन्य आम्दानी गरि कुल रु. ३६,६६,१५,६८७/- आम्दानी गरेको जनाएको छ। त्यस्तै , कम्पनीको खुद मुनाफा यस वर्ष रु. ४,९२,०७५/- रहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend