काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले काङ्ग्रेस-एमालेको सरकारले विपक्षी नेतालाई औचित्यहिन रुपले पक्राउ गर्न उद्यत रहेकोमा आलोचना गरेका छन् । सहकारी बचत अपचलन सम्बन्धि एमाले सांसद सुर्य थापाको संयोजकत्वमा गठन भएको संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचलन गरेर अन्यत्र लैजान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भुमिका नदेखिएको औल्याए पनि पुर्वाग्रहपूर्ण तरिकाले कार्तिक २ गते पक्राउ गरेको सन्दर्भमा दाहालले सरकार आफ्नालाई बचाउने र निर्दोषलाई फसाउने खेलमा लागेको बताएका हुन् ।
पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारवाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको आरोप लगाए ।
‘मैले स्पष्टसँग भनेको थिएँ, तपाईं र हामीमा फरक के भयो भने हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौं,’ उनले भने, ‘तर तपाईंहरुले कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङै देख्दा पनि बचाउनुभएको छ र आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देख्नुभयो भने खोजीखोजी हान्नुभएको छ ।’
सरकारको ‘हनिमुड पिरियड’लाई ध्यान दिंदै अहिलेसम्म सडकमा नआएको तर अब सरकारको सय दिन पुगेकाले सडक प्रदर्शनमा कार्यक्रम अघि सार्न थालेको प्रचण्डले बताए । एउटा सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्ने, बाढीपहिरोपछि उद्धार, राहत र पुनर्स्थापनामा ध्यान नदिनेदेखि जग्गा दान प्रकरणसम्म आउँदा सरकार आफैंले भ्रष्टाचारीको संरक्षकको रुपमा प्रस्तुत हुँदै आएको टिप्पणी गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend