
२२ असोज ,काठमाडौं । शेयर बजारको नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन) ले गरिमा क्यापिटल तथा नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवा दिने गरि लाइसेन्स थप गरेको छ।
गरिमा क्यापिटल तथा नेपाल लाइफ क्यापिटलले यसअघि लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएका थिए । अब ती कम्पनीहरुले धितोपत्र प्रत्याभूति(अन्डर राइटिङ) सेवासमेत दिन सक्ने छन्।
नेपाल लाईफ क्यापिटल नेपाल लाईफ इन्स्योरेन्सको र गरिमा क्यापिटल गरिमा विकास बैंकको भातृसंस्था हुन् । गरिमा क्यापिटलमा गरिमा विकास बैंकको ५१.२० प्रतिशत शेयर स्वामित्व छ ।यी कम्पनीहरु सेबोनबाट अनुमतिप्राप्त मर्चेन्ट बैंकर पनि हुन् ।
देशमा हाल ३० वटा मर्चेन्ट बैंकर सञ्चालनमा छन् । सञ्चालनमा आएका मर्चेन्ट बैंकहरूले वर्षेनी सेबोनबाट अनुमतिपत्र नवीकरण गराउनुपर्ने व्यवस्था छ ।
मर्चेन्ट बैंकरले धितोपत्र निष्कासनका लागि विवरण पत्र, बिक्री सम्बन्धी प्रस्ताव तथा अन्य विवरण तयार गर्ने लगायत धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी आवश्यक कार्यहरू गर्छन् ।
संगठित संस्थासँग सम्झौता गरी संगठित संस्थाले निष्कासन गरेको धितोपत्रहरू बिक्री नभएको अवस्थामा आफूले खरिद गर्न प्रत्याभूति (अन्डरराइटिङ) सेवा दिने, संगठित संस्थाको तर्फबाट धितोपत्र धनीहरूको अभिलेख राख्ने तथा धितोपत्रहरूको नामसारी लगायत शेयर रजिस्ट्रेसन सम्बन्धी अन्य सेवा प्रदान गर्ने, लगानी तथा परामर्श सेवा दिन्छन् ।
त्यस्तै , सेबोन स्रोतका अनुसार माछापुच्छ्रे क्यापिटलले योजना व्यवस्थापक र डिपोजटरीको अनुमति पाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend