काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आइतबार (१३ असोज, २०८१) २१औं वार्षिक साधारणसभा सम्पन्न गर्दै संचालक समितिले प्रस्ताव गरेको साधारण तथा विशेष प्रस्तावहरु छलफल र सुझावसहित पारित गरेको छ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले यही असोज २ गते बुधबार शेयरधनी दर्ता पुस्तिका बन्द (बूक क्लोज) गरेको थियो।
कम्पनीका अध्यक्ष डा. भुषण गुरागाईको सभापतित्वमा सम्पन्न भएको साधारणसभाले कम्पनीले प्रस्ताव गरेको हकप्रद शेयर निष्कासनलाई अनुमोदन गरेको छ।
सभाले कम्पनीको समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ। साथै , कम्पनीको लेखापरीक्षण प्रतिवेदन , वासलात, नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण पनि सभाले पारित गर्यो।
यस बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले संखुवासभा जिल्लास्थित पाँचखपन र चैनपुर नगरपालिकाबीच भएर बहने हेवाखोलाबाट ४.५ मेगावाटको साना जलविद्युत आयोजना सम्पन्न गरि मिति २०६८/०४/२१ बाट व्यावसायिक उत्पादन गर्दै आएको छ।
आयोजनालाई २०८० सालको असार महिनामा आएको बाढीले पूर्ण क्षति पुर्याएकोमा पुनःनिर्माण कार्य पछि हाल संचालनमा आइसकेको कम्पनीले जनाएको छ। समीक्षा आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट रु.३४,९२,१८७/- प्राप्त गरेको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend