बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा बाढी; दर्जनौं घर बगायो

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा बाढी; दर्जनौं घर बगायो

१ भदौ, काठमाडौं ।  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले घरहरू बगाउनुका साथै तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार (३२ साउन ) दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।

बाढीबाट हालसम्म विद्यालयको होस्टल, एउटा क्लिनिक, पाँच वटा होटल र सात वटा घरसहित १४ वटा भवन संरचना पूर्ण रूपमा बगेको खुम्बु पासाङल्हामु गाउँपालिका  प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले जानकारी दिए। उनका अनुसार शुक्रबार दिउँसो एक बजेर २५ बजेतिर अचानक आएको भीषण बाढीका कारण थामे गाउँका सबै मानिस विस्थापित भएका छन्। अन्य घरमा समेत बाढी पसेर धनमालको क्षति भएको उनले बताए।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे वस्तीमा लेदो सहितको बाढीले सो क्षेत्रमा ठुलो क्षति पुर्‍याएको भन्दै राहत र उद्धारमा खटिन पनि पालिकाले आह्वान गरेको छ।

गाउँपालिकाले बाढी प्रभावित बस्तीमा गर्नुपर्ने थप उद्धार, राहत तथा पुनर्स्थापनाका लागि संघीय सरकार, प्रदेश सरकार र गैरसरकारी संघसंस्थाबाट थप सहयोग र सहकार्यको अपेक्षा राखेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै , बाढी गाउँ पसेपछि सम्पर्कविहीन बनेका ५५ वर्षीय निमा शेर्पाको खोजी जारी रहेको प्रहरीले जनाएको छ। थामे बाढीले पुर्‍याएको क्षति अवलोकनका लागि रक्षामन्त्री मानबीर राई शनिबार बिहान पुगेका छन्। प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालका अनुसार हेलिकप्टरमा रक्षामन्त्री राई घटनास्थल पुगेका हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend