धादिङ – धादिङको उत्तरी क्षेत्र झार्लाङ स्वास्थ्य चौकी भवन निर्माणमा कर्मचारी र ठेकेदार मिलेर आर्थिक अनियमितता गरेको फेला परेको छ । २०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त यो स्वास्थ्य चौकीको भवन मर्मत गर्न सरकारले १२ लाख रुपैयाँ बजेट निकासा गरेको थियो। चौकीको रेट्रोफिटिङ ९प्रबलीकरण० का लागि बजेट आएकामा ठेकेदारले टालटुल मात्र गरेर बजेट हिनामिना गरेको फेला परेको हो। प्राविधिक कर्मचारीसँग मिलेर ठेकेदारले बजेट हिनामिना गरेपछि स्वास्थ चौकीका कर्मचारी सामुदायिक भवनमा बसेर सेवा दिन बाध्य भएका छन् । रेट्रोफिटिङका लागि बजेट आए पनि चर्केको गाह्रोको माटो भत्काएर प्लास्टर गर्नेबाहेक कुनै काम नभएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर तामाङले बताए।
‘मर्मतका लागि दुई लाख रुपैयाँ बजेट आएको ठेकेदारले जानकारी गराएका थिए अध्यक्ष तामाङले भने, ‘चौकी मर्मतका लागि १२ लाख ७५ हजार छुट्ट्याइएको रहेछ । प्राविधिकले चौकीको भवन रेट्रोफिटिङ गर्न १२ लाख ७५ हजार रुपैयाँको लगत इस्टिमेट तयार गरेका थिए। इस्टिमेट अनुसार निर्माण गर्ने ठेक्का सिंग तामाङले पाएका थिए। भूकम्पपछि ढुंगा–माटोको गाह्रो भएको स्वास्थ्य चौकी भवन चर्किएर बस्न नसक्ने अवस्था भएको छ। आपतकालीन अवस्थामा आएको मर्मतको बजेटमा सामान्य टालटुले मात्र काम गरी भुक्तानी लिएकामा स्थानीयले विरोध जनाएका छन्।
आपतकालीन अवस्थामा मर्मत–सम्भार गर्न आएको बजेटमध्ये दुर्गम क्षेत्रलाई पहिलो प्राथमिकता दिई यो स्वास्थ्य चौकीको रेट्रोफिटिङ गर्न जिल्ला स्वास्थ्य कार्यालय धादिङले १२ लाख ७५ हजार बराबरको प्राविधिक इस्टमेट गरी ठेकेदारलाई जिम्मा लगाएको थियो। ठेक्का लिएपछि ठेकेदार तामाङले स्थानीय युवालाई तीन लाख रुपैयाँमा पेटी ठेक्का दिएको झार्लाङकै स्थानीय कान्छा तामाङले बताए। स्थानीय ठेकेदारले सिमेन्टको प्लास्टर मात्रै गरेपछि स्वास्थ्य चौकी प्रमुखलाई काम सम्पन्न भएको सिफारिस गरिदिन आग्रह गरेका थिए।
स्वास्थ्य चौकी इन्जार्जले काम नभएको भन्दै भवन मर्मत सम्पन्न भएको सिफारिस नदिए पनि काम भएको भन्दै जिल्ला स्वास्थ्यबाट सात लाख ४८ हजार रुपैयाँ भुक्तानी भएको छ।समिति अध्यक्ष टेकबहादुर तामाङले सुरुमा स्वास्थ्य चौकी भवन मर्मत गर्न बजेट आएको कुरा जानकारी नदिइएको बताए। एकैचोटि काम सम्पन्न भएको सिफारिस लिन आएपछि मात्रै मर्मतको लागि बजेट आएको थाहा पाएको उनले बताए। ‘स्वास्थ्य चौकीले सिफारिस नदिए पनि जिल्ला स्वास्थ्यबाट साढे सात लाख रुपैयाँ भुक्तानी भएको छ,’ तामाङले भने, ‘कुन हिसाबले भुक्तानी गरिएको हो रु यसमा आर्थिक चलखेल भएको आशंका छ।’ यो समाचार नागरिक दैनिकमा छापिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend