काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले पार्टीको सांगठानिक एकताका लागि प्रस्ताव तयार पार्न गठित कार्य दल विघटन गर्ने निर्णयको बिरोध गरेका छन् । पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न स्थायी समितिद्धारा गठित कार्य दलका सदस्य समेत रहेका नेता भट्टराई सचिवालय बैठकको सो निर्णय दुर्भाग्यपूर्ण रहेको दावी गर्दै आपत्ति जनाए ।
उनले पार्टी सचिवालयमा बसेको बैठकको सो सम्बन्धि निर्णय विधान विपरित रहेको र त्यसले कार्य दलले काम गर्न सकेरनसकेको सही समिक्षा समेत गर्न नसकेको आरोप समेत लगाए । शुक्रबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीमाझ प्रतिक्रिया दिँदै नेता भट्टराईले पार्टी स्थायी समितिले बनाएको कार्य दल विधान विपरित सचिवालय बैठकले विघटन गरेको बताए । उनले सो कार्य दललाई कार्य दलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेलले काम गर्न नदिएको आरोप लगाए ।
नेता भट्टराईले कार्य दललाई विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयले पार्टीको एकता प्रक्रियालाई अन्यौलमा धकेलेको र पार्टीका नेता, कार्यकर्तालाई निराश बनाएको बताए । गत पुस १३ गतेको पार्टी स्थायी समिति बैठकले पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न सचिवालयका सदस्य थापा नेतृत्वको कार्य दल गठन गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend