काठमाडौं । गत शुक्रबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को लागि ल्याएको मौद्रिक नीति २२ वर्ष यताकै व्यवसायमैत्री वातावरण बन्नेगरी आएको भन्दै नेपाल निर्माण उद्योग परिषद्ले स्वागत गरेको छ ।
काठमाडौंमा शनिबार (१२ साउन ) पत्रकार सम्मेलन गर्दै परिषद्ले निर्माण क्षेत्रका साथै समग्र वित्तीय क्षेत्रमा समेत अनुकुल हुने तथा व्यवसाय गर्न सहज हुनेगरी मौद्रिक नीति आएको भन्दै स्वागत गरेको हो ।
वर्तमान सरकारको पहलमा राष्ट्र बैंकले समस्या समाधान हुनेगरी मौद्रिक नीति सार्वजनिक गरेर आफ्ना मागहरु सम्बोधन भएको भन्दै परिषद्ले धन्यवादसमेत दिएको छ ।
चेक तथा जमानत जफत गरी कालोसूचीमा र प्रहरी धरकपड भई गुज्रिरहेको निर्माण क्षेत्रलाई मौद्रिक नीतिले उचित सम्बोधन गरेको र संकटग्रस्त रहेको निर्माण व्यवसाय पुनः सूचारु हुन मौद्रिक नीति कोसेढुङ्गा सावित हुने परिषद्का अध्यक्ष खोपनिधि लोहनीले बताए ।

‘निर्माण व्यवसायीका समस्या समग्र नीजि क्षेत्रको र राष्ट्रकै समस्या हुन। अहिलेको मौद्रिक नीतिमार्फत यी धेरैजसो समस्याको सम्बोधन गर्न खोज्नु स्वागतयोग्य छ’, उनले भने, आगामी दिनमा सरकारले बाँकी कामहरु गर्ने अपेक्षा गरेका छौँ ।’
उनले निर्माण क्षेत्रसम्बन्धी आफूहरुकाा केही माग यसअघि नै सरकारसमक्ष राखेको भन्दै उक्त मागहरु पनि सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend