काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा.अजयक्रान्ति शाक्यले लेखेका पुस्तक ‘बुद्धका मौलिक दर्शन’ को सार्वजनिक गरेका छन् । बुधबार (९ साउन ) एक विशेष समारोहमा प्रधानमन्त्री ओलीले बौद्ध दर्शनको मिमांसा गरिएको डा. शाक्यको उक्त पुस्तक लोकार्पण गरेका हुन। शाक्य नेकपा (एमाले) का नेता एवं बागमती प्रदेशका पूर्वमन्त्री समेत हुन।
लोकार्पण समारोहमा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले नेपाल भगवान बुद्धको जन्मस्थल हुनुका साथै नेपालबाटै बुद्ध धर्मको थालनी र बिस्तार पनि भएको स्मरण गरे ।
उनले बुद्धले नेपालसहित भारतका विभिन्न स्थानमा गएर तपस्या र ध्यान गर्नुभएको बताए । बुद्धले ज्ञानको बोध भएपछि नै घर, दरबार, परिवार छोडनुभको र बिना ज्ञान सबै कुराको त्याग गर्न नसकिने उनले बताए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा बुद्ध दर्शनलाई कमजोर हुन नदिने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा बुद्ध दर्शनको एउटा पाटो दान संस्कृतिलाई ओलीले आफ्नै जीवनसँग तुलना समेत गरेका थिए । दान ठूलो कुरा भएको भन्दै प्रधानमन्त्री ओलीले आफूले मिर्गौला दान नपाएको भए अहिले १७औं पुन्यतिथि हुने बताए । बौद्ध दर्शनमा दान पारमिताको ठुलो महत्त्व रहेको प्रधानमन्त्रीले उल्लेख गरे।
पुस्तकका लेखक शाक्यले आफ्नो यो पुस्तकमा बौद्ध धर्म–दर्शन अनुसार जीवन भनेको के–हो ? हामी किन जन्मिन्छौं ? किन मर्छौ ? मानिस भनेको के–हो ? यो भवचक्र किन चलिरहेको छ ? सबै प्राणीहरु भनेका के हुन ? यो ब्रम्हाण्ड भनेको के–हो ? स्वर्ग नर्क आदि लोक भनेको के–हो ? पूर्व जन्म भनेको के हो ? कर्म भनेको के हो ? अनित्य, दुःख र अनात्म भनेका के–हुन् ? कर्म विपाक हुन्छ कि हुँदैन ? लोभ, मोह, तृष्णा आदि भनेका के हुन् ? चित्त चेतना भनेका के हुन ? जस्ता यावत प्रश्नहरु बौद्ध दर्शनका पाठकहरु समक्ष स्पष्ट पार्न पुस्तक सहयोगी बन्ने अपेक्षा गरेको बताए ।
‘यो पुस्तक ‘बुद्धका मौलिक दर्शन’ मा बुद्धका आधारभुत शिक्षाहरुका बारे उल्लेख गरिएको छ,’लेखक शाक्यले भने,’त्यसैले बुद्धका आधारभूत शिक्षाका बारे जानकारी लिन चाहनु हुने पाठकहरुका लागि ‘बुद्धका मौलिक दर्शन’ नामक यो पुस्तक फलदायी हुने अपेक्षा गरेको छु ।’
शाक्यको कृतिबारे व्याख्या गर्दै भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले मूलतः बुद्ध धर्ममा अभ्यास गरिने ध्यानको बारेमा पुस्तकमा भएको उल्लेख गरे ।
पुस्तकको पहिलो भागमा ध्यान अभ्यास गर्नु पूर्व मनन् गर्नुपर्ने विभिन्न विषयहरूका बारेमा चर्चा गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend