६ साउन, काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो कार्यकालमा विभिन्न भ्रष्टाचारबारे अनुसन्धान सुरु गरेकोमा त्यसलाई ‘स्टन्ट’ भनेकोमा आपत्ति जनाएका छन् । उनले भने, ‘स्टन्ट होइन, हामी त्यसलाई आँट, विधि र साहस भन्छौँ ।’ सभापति लामिछानेले संसारले नै सम्मान गर्ने उपसभामुख इन्दिरा रानामगरप्रती अनुचित आरोप लगाइएको प्रति पनि चासो व्यक्त गरेका छन् ।
त्यस्तै , वर्तमान ओली सरकारले अघिल्लो सरकारले छानबिनमा राखेएका व्यक्तिहरुलाई नै छानेर मन्त्रीमण्डलमा ल्याएकोमा संशय व्यक्त गरेका छन् । सरकारले सुरुवातमै देखाएको संकेतले आफूहरुलाई झस्काएको पनि उनले बताएका छन् ।
सोमबार विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै लामिछानेले सुशासनमा ओली सरकार पछाडी हटेको बताएका हुन।
‘सरकार फेरिएर होइन, हामीले सरकार छाड्नु परेर होइन’ उनले भने, ‘जुन संकेत सुरुवातमा देखियो, त्यसले हामीलाई झस्काएको छ । सरकार सुरु हुने वित्तिकै हामीले अनुसन्धान गरिरहेको विषय, हाजिरी जमानीमा छुटेको व्यक्ति बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो’, कांग्रेस सांसद विनोद चौधरीतर्फ संकेत गर्दै उनले भने, ‘बाँसबारी छालाजुत्ताको विषयको अनुसन्धान चलिरहँदा गीतको आवाज आयो बालकोटबाट, त्यहाँ हामीलाई शंका भयो ।’
मन्त्रिपरिषद् गठनमा पनि आफूहरुले विषय उठाएका व्यक्ति हरुलाई नै छानेर पुरस्कार दिएको देखिएको उनले बताए । ‘नक्कली भुटानी शरणार्थी शिविरमा पुनः अनुसन्धान सुरु भयो, मन्त्रिमण्डलमा को गयो देशलाई राम्रोसँग थाहा छ’ परराष्ट्रमन्त्री आरजु देउवा राणातर्फ संकेत गर्दै उनले भने ।
‘हामीले बालमन्दिरको विषय उठायौं, त्यहाँ पनि पुरस्कार । स्काउटको विषय हामीले उठायौं, फेरि मन्त्रिमण्डल हेरौं , उनले अगाडि भने, ‘जहाँजहाँ हामीले विषय उठायौं, त्यहाँ त्यहाँ पुरस्कार पुरस्कार पाएपछि हामीले कसरी विश्वास गर्ने ?’
प्रधानमन्त्री ओलीले संसदमा व्यक्त गरेका प्रतिवद्धतामा गुण र दोषका आधारमा प्रतिपक्षमा बस्ने बताउदै रास्वपा सभापति लामिछानेले भने, ‘२५ वटा काण्डमा छानबिन सुरु गर्छौं भनेका थियौं, यो निर्णयको निरन्तरताका लागि अपील गर्न चाहन्छु ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend