धुलिखेल । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गर्दै नयाँ संचालक समितिको चयन गरेको छ। कम्पनीको साधारणसभा अध्यक्ष लोक बहादुर खडकाको सभापतित्वमा असार ३० गते आइतबार धुलिखेलमा सम्पन्न भएको थियो।
साधारणसभाले संचालक समितिमा संस्थापक समुहबाट लोक बहादुर खड्का , कपिल न्यौपाने , खेमराज सापकोटा र कमल प्रसाद ज्ञवाली सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधारण समूहबाट उमेश घिमिरे र संजीव ढकाल निर्वाचित भए।
त्यससँगै नयाँ संचालक समितिको बैठकले लोक बहादुर खड्कालाई आगामी ४ वर्षको लागि पुनः अध्यक्ष चयन गरेको छ।
सभाले कम्पनीको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। त्यस्तै , समीक्षा आ. व. को वासलात, लेखापरीक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब , नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत सभाबाट पारित भएका छन् ।
तत्कालीन विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाहरु गाभिएर बनेको यस संस्थाले मिति २०८०/३/३१ बाट एकीकृत वित्तीय कारोबार शुरु गरेको थियो। हाल संस्थाको ४४ जिल्लामा १३५ शाखा रहेका छन् । संस्थाले आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा आइपुग्दा २५,२७४ समुहमा आवद्ध रहेका १,४३,४७० जना सदस्यहरुलाई लघुवित्तीय सेवा दिएको जनाएको छ।
समीक्षा आ. व. मा चुक्ता पूँजी रु. ७४ करोड ५० लाख भन्दा बढी रहेको यस संस्था ऋण सापटी रु. ५ अर्ब ८६ करोड ९३ लाख भन्दा बढी रहेको छ। त्यस्तै , खुद मुनाफा रु३ करोड ९० लाख बढी रहेको छ।
साधारणसभामा अध्यक्ष लोक बहादुर खड्काले आगामी वर्ष पुष भित्रमा साधारणसभा सम्पन्न गर्ने र संस्थागत सुशासनमा अझै सुदृढीकरण गर्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend